काठमाडौं । ललितपुरमा श्रृंखलावद्ध चोरीका घटनामा संलग्न ३ जनालाई प्रहरी पक्राउ गरेको छ । ललितपुरका विभिन्न होटल, रेस्टुरेन्ट तथा कन्सल्टेन्सीमा भएका चोरीका घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा रामेछापको साबिक बाम्तीभण्डार गाविस वडा नम्बर ३ घर भई हाल ललितपुरको गोदावरी–६ टौखेल बस्ने २४ वर्षीय बिराट राई, गोदावरी–३ बस्ने २३ वर्षीय विशाल तामाङ र एक जना १४ वर्षीय किशोर रहेका छन् ।
ललितपुर महानगरपालिका वडा नं. १९ कुमारीपाटीस्थित एस.आर. स्टोर, लुनार एजुकेशन कन्सल्टेन्सी, केकेएफसी रेस्टुरेन्ट, लाईट फोटो स्टुडियो, कोपि.के लाफिङ सेन्टर नामक होटल र गोदावरी–३ टौखेलस्थित रिता थापा क्षेत्रीको घरकोठामा विभिन्न मितिमा भएको चोरी घटनामा उनीहरुको संलग्नता रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई चोरीका सामानहरुसहित प्रहरीले पक्राउ गरेको हो । उनीहरुविरुद्ध चोरीसम्बन्धि मुद्दामा ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परीसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले जानकारी दिए ।