Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

दसैंमा दुर्घटनामा परेर सुदूरपश्चिममा ९ को मृत्यु

दसैंमा दुर्घटनामा परेर सुदूरपश्चिममा ९ को मृत्यु

दैनिकी न्यूज

३१, आश्विन २०७८
दसैंमा दुर्घटनामा परेर सुदूरपश्चिममा ९ को मृत्यु
images

बैतडी । असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौ जनाको ज्यान गएको छ भने १७ गम्भीर र छ जना सामान्य घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहका अनुसार उक्त अवधिमा यस प्रदेशमा १५ सवारीसाधन दुर्घटनामा परेका छन्।

दुर्घटनामा पर्ने सवारी साधनमा सबैभन्दा बढी सवारी साधन मोटरसाइकल ११ छन्।

यस्तै जीप,कार दुई, ट्र्याक्टर एक र बस एक छन्।

चाडपर्वका समयमा गन्तव्यमा पुग्न सार्वजनिक सवारी समयमा नपाउनाले आफ्नै साना सवारीमा यात्रा गर्नेहरू बढी दुर्घटनामा परेको जनाइएको छ।

साथै दसैँका समयमा गन्तव्यमा समयमै पुग्न हतारो हुने र यातायात सञ्चालकले पनि जथाभावी यात्रु चढाउने, सवारीको क्षमताभन्दा बढी यात्रु राख्ने, हतारोका कारण सवारीको प्राविधिक अवस्था नजाँच्नेजस्ता कारणले दुर्घटना भएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ।

साना सवारी चालकले लापर्बाही ढङ्गले सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी हाँक्नेजस्ता कारण, सडक साँघुरा र खाल्डाखुल्डी पनि दुर्घटनाको कारण बन्ने गरेको ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले बताए।

‘चाडपर्वको बेला सबैलाई समयमा गन्तव्यमा पुग्न हतार हुन्छ, सडकको खराब अवस्थाले पनि दुर्घटना निम्त्याउने गर्दछ,’ उनले भने। रासस

images
प्रकाशित मिति :आश्विन ३१, २०७८ आइतवार - ११:०२:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology