Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

दशैंका लागि उपत्यका छाड्नेको संख्या बढ्यो

दशैंका लागि उपत्यका छाड्नेको संख्या बढ्यो

दैनिकी न्यूज

२५, आश्विन २०७८
दशैंका लागि उपत्यका छाड्नेको संख्या बढ्यो
images

काठमाडौं । दशैं शुरू भएसँगै उपत्यका छाड्ने यात्रुको संख्या बढ्न थालेको छ । यही असोज १ देखि ७ गतेसम्म भित्रिने र बाहिरिने यात्रु बराबर थिए । अहिले भने बाहिरिने यात्रु बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।

काठमाडौं भित्रिने र बाहिरिने यात्रुको संख्या विश्लेषण गर्दा अहिलेसम्म औपचारिक रूपमा १ लाखभन्दा बढी यात्रु काठमाडौंबाट बाहिरिएका छन् । प्रहरीको अभिलेखमा रहेका बाहेक समेत धेरै यात्रु बाहिरिएका छन् ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विस्तारै यात्रु बाहिरिने क्रम बढिरहेको र दशैं बिदा शुरू भएपछि भने यो संख्या अझै बढ्ने बताए । ‘अहिलेसम्म सामान्य रूपमा बढिरहेको छ, अब थप बढ्छ,’ उनले भने, ‘यात्रुको सहजताका लागि हामीले चुस्त ट्राफिक व्यवस्थापन मिलाएका छौं, बाहिरिने यात्रुका सहज व्यवस्थापनका लागि रातदिन नभनी प्रहरी खटाइएको छ ।’

असोज १ देखि २२ सम्ममा १ लाख ४२ हजार २२७ सवारीसाधनमा ७ लाख ७६ हजार ३७१ यात्रु भित्रिएको तथ्यांक छ । सोही अवधिमा १ लाख ४३ हजार ७७३ सवारी साधनमा ८ लाख ७० हजार ४९६ यात्रु बाहिरिएको महाशाखाले बताएको छ ।

यद्यपि रिजर्भ गरेर जाने यात्रुको संख्या यसपालि बढी छ । त्यसरी जानेको संख्या भने प्रहरीको अभिलेखमा रहँदैन । साथी वा आफ्नो परिवार मिलेर साना गाडी रिजर्भ गरेर घर जाने प्रचलन यसपटक बढी देखिएको महाशाखाका प्रहरी निरीक्षक जितेश दाहालले जानकारी दिए ।

यसपटक असोज ११ गतेदेखि गाडीको अग्रिम टिकट विक्री खुला गरिएको थियो । अहिले पनि अनलाइन वा प्रत्यक्ष रूपमा टिकट काट्ने यात्रुको चाप बढी छ । त्यस्ता काउन्टर तथा यात्रुको भिडभाड हुने क्षेत्रमा प्रहरी परिचालन गरिएको महाशाखाले बताएको छ ।

प्रहरीले उपत्यकाका मुख्य चोकमा यात्रु सहायता कक्षा स्थापना गरी सेवा दिइरहेको छ । माइकिङ गरेर यात्रुलाई सचेत गराउने, सुरक्षित यात्राका लागि आग्रह गर्ने गरिरहेको छ । कोभिड–१९ का कारण उपत्यकामा विगतका वर्षमा भन्दा मानिस कम रहेको बताइएको छ ।

चाडबाडका बेला चोरी तथा आपराधिक घटना हुन सक्ने भएकाले त्यसको निगरानीका लागि र शान्तिसुरक्षा कायम गर्न ७७ ओटै जिल्लामा विशेष सुरक्षा योजना बनाएर लागू गरिएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।

प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले सादा पोशाकमा समेत प्रहरी परिचालन गरेर ठगी, कालोबजारी, चोरी आपराधिक क्रियाकलाप नियन्त्रणमा प्रहरी खटाइएको जानकारी दिए । चाडबाडका बेला आफै पनि सावधान हुन र केही समस्या घटना परेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ । रासस

images
प्रकाशित मिति :आश्विन २५, २०७८ सोमवार - ०९:०४:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology