Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

नाकामा खुलेआम पैसा उठाएपछि सबै प्रहरी परिवर्तन

नाकामा खुलेआम पैसा उठाएपछि सबै प्रहरी परिवर्तन

दैनिकी न्यूज

१८, आश्विन २०७८
नाकामा खुलेआम पैसा उठाएपछि सबै प्रहरी परिवर्तन
images

बाँके । भारतबाट दशैं मनाउन घर फर्किएका ‘कालापहाडे’सँग पैसा असुली गरेपछि नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाको प्रहरी सेट नै परिवर्तन गरिएको छ । जनगुनासो आएपछि भन्सारका इन्चार्ज पनि परिवर्तन गरिएको छ ।

जमुनाहाको इन्चार्ज डीआईजीले पठाउने गर्दछन् । त्यहाँको इन्चार्जलाई जिल्लाका प्रमुखले चलाउन सक्दैनन् । दशैं मान्न घर फर्किएका कालापहाडेसँग खुलेआम पैसा असुली भइरहेको समाचार छ्याप्छ्याप्ती आएपछि हेडक्वाटरले नै चासो लिएको प्रहरीले स्रोतले बतायो । ‘हेडक्वाटरले नै चासो लिएपछि जमुनाहाका इन्चार्जलाई परिवर्तन गर्न धेरै लेखापढी गर्नुपरेन’, एक अधिकृतले भने– ‘अहिले नयाँ टोली पठाएका छौं । अब जनगुनासो नआउला ।’

जमुनाहाबाट इन्चार्ज पूर्ण खत्रीसहित १८ जनालाई जिल्ला तानिएको छ । वडा कार्यालय, नेपालगञ्जबाट सई मीनबहादुर विष्टलाई जमुनाहामा पठाइएको छ । प्रहरीको छवि नै धमिल्याउने गरी नाकाका प्रहरीबाट भएको कमजोरीलाई आन्तरिकरूपमा कारबाही प्रक्रिया अघि बढाइएको छ । बाँके प्रहरीले नेपालगञ्ज भन्सारका सई अनुप ऐरीलाई पनि परिवर्तन गरेको छ । त्यहाँ अहिले लीला विकलाई पठाइएको छ । ‘जनगुनासो आएको ठाउँका प्रहरीलाई परिवर्तन गरिएको छ ।’ –बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेले भन्नुभयो ।
इलाका प्रहरी कार्यालय, जमुनाहा नेपालगञ्जबाट भारत प्रवेश गर्ने मुख्य सडकको अन्तिम नाका हो । दशगजाबाट नेपाल प्रवेश गर्नेवित्तिकै जमुनाहाका प्रहरीले चेकजाँच गर्छन् । जमुनाहा सशस्त्र प्रहरी र भन्सारको टोली पनि खटिन्छन् । सशस्त्र प्रहरी र भन्सारका कर्मचारीले पनि खुलेयाम पैसा उठाउने गर्दछन् । यी दुई निकायको टोली भने परिवर्तन गरिएको छैन । नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीका बीचमा सामान जाँच गर्ने र पैसा उठाउने एक प्रकारको प्रतिस्पर्धा नै हुने गरेको पाइन्छ । दशगजामै जोडिएको जमुनाहा नाकामा मात्रै होइन, ठूलो भन्सार कार्यालय अगाडि पनि सडकमा बसेर नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारका कर्मचारीले खुलेयाम पैसा असुल्ने गर्दछन् । कोरोनाको डरले हात नछुने भनिए पनि ठूलो भन्सार कार्यालय अगाडि बाटोमा जाँच गर्न उभिने नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीले रिक्सामा बसेका, साइकलमा रहेका वा मोटरसाइकलको ह्यान्डलमा समातेर रोकेको जस्तो गरेर हात मिलाउने शैलीमा पैसा लिने गर्दछन् । यो दृश्य त्यहाँ बिहानदेखि बेलुकासम्म खुलेयाम देखिन्छ ।

एउटा व्यक्ति नेपालगञ्ज प्रवेश गरेपछि जमुनाहामा जाँचमा पर्छ । त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी भन्सार कर्मचारीले जाँच गर्छन् । त्यसपछि एक किलोमिटर जति यता रहेको ठूलो भन्सार कार्यालय अगाडि जाँच हुन्छ । यहाँबाट पनि तीनवटै निकाय हुन्छन् । त्यहाँबाट अगाडि बढेपछि सीमा प्रहरीले जाँच गर्छ । अलि यता चौलिक्का सशस्त्र प्रहरीले जाँच गर्छ । क्याम्पस अगाडि ट्राफिक प्रहरीले रोक्छ । सर्वसाधारणले यतिका ठाउँमा जाँचलाई सहँदा तस्करको सामान भने नेपालगञ्ज भित्रबाट जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयको टोली पक्राउ गर्ने गर्दछ ।

यी विषयमा भन्दा पनि अहिले कालापहाडेसँग पैसा असुली भएपछि जिल्ला प्रहरीले ठूलो एक्सन लिएको छ । जहान परिवार बोकेर कालापहाडमा पुग्ने नेपालीले मजदुरी गरेर ल्याएको रकममा नाकाका प्रहरीले आँखा लगाएपछि नाकाका प्रहरी कारबाहीमा परेका हुन् ।

आफ्नो उत्पादनले खाना नपुग्ने भएपछि कर्णाली प्रदेशका कालिकोट, जाजरकोट, दैलेख, रुकुम, रोल्पा, सल्यानका मानिस मौसमी कामका लागि कालापहाड जाने गर्दछन् । नेपालीको चाड दशैं नजिकिएकाले उनीहरु घर फर्किरहेका छन् । नेपालगञ्ज नाकाबाट दैनिक हजार बढी कालापहाडे घर फर्किरहेका छन् । दशैं अझै नजिकिँदा दैनिक ५ हजारसम्म घर फर्किन्छन् । नाकामा भीडभाड बढ्दै गइरहेकाले सोझा कालापहाडे लुटिन सक्ने तर्फ पनि प्रहरी सचेत भएको छ । रिक्साले नेपालगञ्जसम्मको कति पैसा लिइरहेको छ भन्नेबारेमा प्रहरीले चासो राखेको छ । पहाडी जिल्ला मानिसलाई रिक्साले नेपालगञ्जसम्म धेरै लिइदिने गरेको पाइन्छ । समाचार आजको नेपाल समाचारपत्र दैनिकमा कुमार श्रेष्ठले लेखेका छन ।

images
प्रकाशित मिति :आश्विन १८, २०७८ सोमवार - ०८:१९:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology