Logo

बुधवार, आश्विन २८ गते २०८३

images

कांग्रेस महाधिवेशनः १३ जिल्लाका वडा अधिवेशन फेरि परिवर्तन

कांग्रेस महाधिवेशनः १३ जिल्लाका वडा अधिवेशन फेरि परिवर्तन

दैनिकी न्यूज

४, आश्विन २०७८
कांग्रेस महाधिवेशनः १३ जिल्लाका वडा अधिवेशन फेरि परिवर्तन
images

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवाद मिलाउन बाँकी रहँदा १३ जिल्लामा वडा तहको अधिवेशनको कार्यतालिका फेरि परिवर्तन हुने भएको छ ।

कांग्रेसले पहिलो चरणमा ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको थियो । पछिल्लोपटक परिमार्जन गरिएको तालिकाअनुसार बाँकी २० जिल्लामा ५ असोजका लागि अधिवेशन तोकिएको थियो । सो मितिमा काठमाडौंसहित ७ जिल्लामा मात्रै अधिवेशन हुने भएको हो । बाँकी जिल्लामा भने त्यसपछि मात्रै वडा अधिवेशन गर्ने कांग्रेसको तयारी छ ।

‘५ भदौमा ७ जिल्लामा वडा अधिवेशन हुन्छ, १३ जिल्लामा त्यसपछि हुन्छ, बाँकी हुने जिल्लामा निर्वाचन समितिले नै वडा अधिवेशनको मिति तय गर्छ,’ कांग्रेसका एक पदाधिकारीले भने ।

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले १३ जिल्लामा ५ भदौपछि मात्रै वडा अधिवेशन हुने बताए । ‘निर्वाचन समितिले १३ जिल्लाको सदस्यता पाएको छैन, आज वा भोलि आउँदा पनि ती जिल्लामा अब ५ भदौपछि मात्रै अधिवेशन गर्न सकिन्छ, सदस्यता पाएपछि सार्वजनिक गर्छौं र निर्वाचन अधिकृत तोक्छौं,’ निर्वाचन समितिका संयोजक यादवले भने ।

कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंग्याउन नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा रमेश लेखक र डा. मिनेन्द्र रिजाल सदस्य रहेको कार्यदल बनाइएको थियो । सो कार्यदलले आइतबार सबै जिल्लाको सदस्यता विवाद समाधान गरेर कागजात पार्टी सभापति शेरबहादुर देउवासहित महामन्त्री डा. शशांक कोइराला र पूर्णबहादुर खड्कालाई बुझाइसकेको छ ।

कार्यदलका सदस्य रिजालले कार्यदलले गर्ने काम सकेर सभापति र महामन्त्रीद्वयलाई बुझाएको र अब कार्यदलले सकेको कामलाई कार्यान्वयनाममा लैजान मात्रै बाँकी रहेको बताए ।

‘कार्यदलले गर्ने काम सकेर हामीले सभापति र महामन्त्रीद्वयलाई कागजात बुझायौं अब कार्यदलले सकेको कामलाई कार्यान्वयनमा लैजान मात्रै बाँकी छ,’ कार्यदलका सदस्य रहेका नेता रिजालले भने ।

अब बाँकी जिल्लाको क्रियाशील सदस्यताको नामावलीलाई सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेर केन्द्रीय निर्वाचन समितिलाई दिएपछि समितिले पार्टीको वेबसाइटमार्फत् नामावली सार्वजनिक गर्ने छ ।

कांग्रेसले अझै पनि १३ जिल्लाअन्तर्गत प्रदेश २ का आठ जिल्ला र रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छैन ।

गत बुधबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले काठमाडौं, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो ।

कांग्रेसले ९ असोजमा गाउँ/नगर अधिवेशन तोकेको छ । वडा सभापति र क्षेत्रीय प्रतिनिधि गाउँ/नगर अधिवेशनका मतदाता हुन्छन् । समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन ।

images
प्रकाशित मिति :आश्विन ४, २०७८ सोमवार - ०६:५५:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology