तनहुँ । सवारी दुर्घटनाबाट तनहुँमा एक वर्षको अवधिमा ४८ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ को अवधिमा ३७ पुरुष, आठ महिला र तीन बालकले ज्यान गुमाएका छन् ।
आव २०७६–७७ मा ४४ र आव २०७५–७६ मा ६० जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । पछिल्ला तीन वर्षको अवधिमा जिल्लामा १५२ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । ट्राफिक प्रहरी कार्यालयका प्रमुख डोलेन्द्रबहादुर हमालले ७२ किलोमिटर पृथ्वीराजमार्ग रहेको तनहुँ खण्डमा गत वर्ष ९० स्थानमा दुर्घटना भएको जानकारी दिए ।
त्यसक्रममा १२८ सवारी साधन दुर्घटनाग्रस्त भएका थिए । उनका अनुसार मोटरसाइकल र स्कुटर ६६, ट्रक÷ट्याङ्कर १८, जिपरकार १७, ट्र्याक्टर १७, बस पाँच, माइक्रो चार र एउटा टिपर दुर्घटना भएका थिए । रासस