Logo

बुधवार, आश्विन २८ गते २०८३

images

महाधिवेशनमा जुट्यो काँग्रेस, ५३ जिल्लाको क्रियाशिल सदस्यको सूची सार्वजनिक

महाधिवेशनमा जुट्यो काँग्रेस, ५३ जिल्लाको क्रियाशिल सदस्यको सूची सार्वजनिक

दैनिकी न्यूज

१३, भाद्र २०७८
महाधिवेशनमा जुट्यो काँग्रेस, ५३ जिल्लाको क्रियाशिल सदस्यको सूची सार्वजनिक
images

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता अब १४औँ महाधिवेशनमा केन्द्रित हुने भएका छन् । पार्टीको क्रियाशील सदस्यता विवाद, निर्वाचन निर्देशिकालगायतका विषयमा सहमति भई शनिबारै जिल्ला सभापतिको अनशन टुङ्गो लागेपछि पार्टी अब सम्पूर्ण रूपमा महाधिवेशनमा होमिने अवस्था सिर्जना भएको हो ।

पार्टी सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेलबीच यस विषयमा सहमति भएपछि चार दिनदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी जिल्ला सभापतिको रिलेअनशनसमेत तोडिएको छ । शीर्षनेताबीच सहमतिपछि शनिबार साँझ जिल्ला सभापतिले अनशन तोडेको र पार्टी अब पूर्ण रूपमा महाधिवेशनमा जुट्ने अवस्था बनेको नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीले जानकारी दिनुभयो । आफूहरूको माग पूरा भएकाले अनशन स्थगित गरिएको उहाँले जानकारी दिनुभयो । जिल्ला सभापतिको अनशन तोडाउन क्रियाशील सदस्यता छानबिन समितिका संयोजक पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सदस्य डा. मीनेन्द्र रिजाल र रमेश लेखक पार्टी कार्यालय सानेपा पुग्नुभएको थियो ।

५३ जिल्लाको सूची सार्वजनिक
काँग्रेसले ७७ वटै जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्ने भएको छ । क्रियाशील सदस्यताको विवाद किनारा लगाउँदै बढीमा दुई÷तीन दिनभित्र सबै जिल्लाको सूची वेबसाइटमा सार्वजनिक गरिने जानकारी काँग्रेसले दिएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विवादको छिनोफानो गर्दै सदस्यताको सूची सार्वजनिक गरिने जानकारी दिनुभयो । यसक्रममा शनिबार क्रियाशील सदस्यताको विवादको छिनोफानो भएका थप पाँच जिल्लाको सूचीलाई काँग्रेसले वेबसाइटमा अद्यावधिक गरेको छ । नुवाकोट, चितवन, धादिङ, ललितपुर र अर्घाखाँची जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक गरिएको हो । ती जिल्लामा निर्वाचन अधिकृतसमेत खटाइएको छ ।

यसअघि काँग्रेसले भदौ १० गते ३८ जिल्ला र ११ गते थप १० जिल्ला गरी ४८ जिल्लाको सदस्यता सूची सार्वजनिक गरेको थियो । शनिबार पाँच जिल्लाको सूची सार्वजनिक भएपछि अब २४ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो लाग्न बाँकी छ । पार्टीले विवाद मिलेका जिल्लाको सूची केन्द्रीय निर्वाचन समितिमार्फत सार्वजनिक गर्ने गरेको छ । निर्वाचन समितिलाई सूची उपलब्ध गराएलगतै आफूहरू सूची सार्वजनिक गर्ने जानकारी केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले दिनुभयो ।

यो खबर आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

images
प्रकाशित मिति :भाद्र १३, २०७८ आइतवार - ०८:५८:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology