काठमाडौं । तालिवानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि उत्पन्न भएको समस्यापछी त्यहाँ रहेका झण्डै ८ सय नेपालीलाई नेपाल फर्काइएको छ । विभिन्न मुलुकको सहयोगमा मंगलबार बेलुकीसम्म ७७० नेपालीलाई अफगानिस्तानबाट उद्धार गरेर काठमाडौं ल्याएको परराष्ट्र मन्त्रालयले जनाएको हो । मंगलबार जोर्डन एभिएसनको उडानबाट १०३ तथा कतार एयरको उडानबाट ९ गरि ११२ स्वदेश फर्किएका छन् । मन्त्रालयले अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लन्डन र नयाँ दिल्लीमा रहेका नेपालीहरुलाई काठमाडौंसम्म ल्याउनका लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको जनाएको छ । मन्त्रालयले काबुलमा नागरिक उड्डयन सेवाको जहाजको आगमन-अवतरण हालसम्म खुला नभइसकेकाले नेपालले आफ्नै विमान पठाएर त्यहाँ रहेका नेपालीको उद्धार गर्ने अवस्था नभएपछी विभिन्न निकाय र मुलुकको सहयोग लिएको छ । अहिलेसम्म अफगानिस्तानमा करिब १५ सय नेपाली रहेको अनुमान छ ।