Logo

बुधवार, आश्विन २८ गते २०८३

images

काँग्रेस सदस्यता विवाद टुङ्गियो, वडा अधिवेशन निर्धारित समयमै

काँग्रेस सदस्यता विवाद टुङ्गियो, वडा अधिवेशन निर्धारित समयमै

दैनिकी न्यूज

८, भाद्र २०७८
काँग्रेस सदस्यता विवाद टुङ्गियो, वडा अधिवेशन निर्धारित समयमै
images

काठमाडौँ । नेपाली काँगेसले लामो समयदेखि थाती रहेको क्रियाशील सदस्यताको विवादको अन्तिम टुङ्गो लगाएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा सोमबार बसेको शीर्ष नेताहरू सम्मिलित बैठकले सहमतिमै क्रियाशील सदस्यताको विवाद किनारा लगाएको हो ।

विवाद समाधान भएसँगै क्रियाशील छानबिनको अन्तिम किनारा लगाउन पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठित समितिले सोमबार राति १० बजेतिर सहमतिको प्रतिवेदन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुझाएको छ । समितिका तर्फबाट नेता सिटौलाले शीर्ष नेताद्वयलाई प्रतिवेदन बुझाउनुभएको हो ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले क्रियाशील सदस्यता विवाद समाधान भएपछि पार्टी अब पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै महाधिवेशनमा जुट्ने जानकारी दिनुभयो । उनले क्रियाशील सदस्यताको सबै प्रिन्ट भइसकेकाले समस्या नहुने र थप भएको केही विवरण सचिवालयले मिलाउने बताए ।

उनले मतदाता सामग्री हिमाली र दुर्गम पहाडी जिल्लामा हेलिकप्टरबाट ढुवानी गरिने तयारी रहेको बताए । अब महाधिवेशन हुँदैन कि भन्ने अन्योल पनि समाप्त भएको छ ।

सिटौला संयोजक तथा केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको कार्यदल एक साताको अवधिमा धनुषा, सर्लाही, बारा, सप्तरी, रसुवा र सिन्धुपाल्चोक जिल्लाको थाती रहेको विवादमा सहमति जुटाउन सफल भएपछि क्रियाशील सदस्यताको विवादले निकास पाएको हो ।

गत फागुनदेखि सुरु भएको क्रियाशील सदस्यताको छानबिन कार्यले सोमबारबाट अन्तिम रूप लिएको छ । यसअघि केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित कार्यदलले साउन १२ गते क्रियाशील सदस्यताको प्रतिवेदन सभापति देउवालाई हस्तान्तरण गरेको थियो तर सो प्रतिवेदनले केही जिल्लाको विवाद समाधान गर्न बाँकी थियो ।

सभापति देउवालाई प्रतिवेदन बुझाउनुअघि कार्यदलका सदस्य र पार्टीका शीर्ष नेताहरूबीच बूढानीलकण्ठमा लामो छलफल भएको थियो । सभापति देउवा, वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिटौला, डा। रिजाल, लेखकलगायतका नेताहरूको बैठकले अन्तिम समयमा सहमति जुटाएको हो ।

वडा अधिवेशन निर्धारित समयमै
अन्य राजनीतिक दलबाट काँग्रेसमा प्रवेश गरेका व्यक्तिका लागि न्यूनतम मापदण्डका आधारमा क्रियाशील सदस्यता दिइने सहमति नेताहरूले गरेका छन् । क्रियाशील सदस्यताको विवाद मिलेसँगै अब पार्टीले यसअघि तय गरेको गाउँपालिका तथा नगरपालिकाको वडा अधिवेशन निर्धारित समयमै हुने भएको छ ।

महाधिवेशनको कार्यतालिका प्रभावित नहुने र नेताहरूबीच यसमा सहमति भएको जानकारी मुख्य सचिव पौडेलले दिनुभयो । अब सभापति शेरबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यताको अन्तिम सूची पार्टीको निर्वाचन समितिलाई बुझाएपछि समितिले महाधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढाउनेछ ।

एक दुई दिनमै अब यी काम पूरा हुने जानकारी नेताहरूले दिएका छन् । वडा अधिवेशन भदौ १८ गते गर्ने निधो काँग्रेसले गरेको छ । यसका साथै आगामी मङ्सिर ९ देखि १३ सम्म पार्टीको १४ औँ महाधिवेशन काठमाडौँमा गर्ने निर्णय काँग्रेसले यसअघि गरिसकेको छ।

यो खबर आजको गोरखापत्र दैनिकमा नारद गौतम÷शेषकान्त पण्डितले लेखेका छन् ।

images
प्रकाशित मिति :भाद्र ८, २०७८ मंगलवार - ०७:५०:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology