Logo

बुधवार, आश्विन २८ गते २०८३

images

आजदेखि फेरि मनसुन सक्रिय हुने

आजदेखि फेरि मनसुन सक्रिय हुने

दैनिकी न्यूज

११, श्रावण २०७८
आजदेखि फेरि मनसुन सक्रिय हुने
images

काठमाडौँ । आज (सोमबार) देखि मनसुन सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक विस्तारै आउने क्रम शुरु भएकाले सोमबारदेखि मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

“आज रातिसम्म उक्त रेखा नेपालको तराई भू–भागसम्म आइपुग्ने सम्भावना रहेकोले मनसुन सक्रिय भई बुधबारसम्म वर्षा हुने सम्भावना देखिएको हो”, मौसमविद् पौडेलले भने । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गदैँ देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल देशभर सामान्य बदली रही प्रदेश नं १, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

सोमबार देशभर सामान्यतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २२ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३६ दशमलव पाँच डिग्री सेल्सियस छ ।

images
प्रकाशित मिति :श्रावण ११, २०७८ सोमवार - ०६:०६:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology