Logo

बुधवार, आश्विन २८ गते २०८३

images

कांग्रेस १४औं महाधिवेशनः सभापतिका आकांक्षी धेरै, व्यवस्थापनमा सकस

कांग्रेस १४औं महाधिवेशनः सभापतिका आकांक्षी धेरै, व्यवस्थापनमा सकस

दैनिकी न्यूज

२७, आषाढ २०७८
कांग्रेस १४औं महाधिवेशनः सभापतिका आकांक्षी धेरै, व्यवस्थापनमा सकस
images

काठमाडौं । नेपाली कांग्रेसको आसन्न केन्द्रीय महाधिवेशनमा सभापतिका आकाङ्क्षी बढेपछि त्यसलाई व्यवस्थापन गर्न पार्टीभित्रका समूहलाई सकस पर्दै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाका साथै प्रतिस्पर्धी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई १४औँ महाधिवेशनमा आफ्ना समूहबाट सर्वसम्मत सभापतिमा एक जना उम्मेदवार बनाउन चुनौती चुलिँदै गएको छ ।

विगतमा आफ्नो समूहभित्र एकल नेतृत्व गर्दै आउनुभएका सभापति देउवालाई यसपटक उपसभापति विमलेन्द्र निधिले संस्थापन समूहभित्रै चुनौती दिंदै देउवालाई नछाड्ने घोषणा गरिसकेका छन् ।

अघिल्लो महाधिवेशनमा देउवा आफ्नो समूहका सर्वसम्मत उम्मेदवार हुँदा पहिलो चरणमा विजय हासिल गर्न नसकी निकटतम प्रतिद्वन्द्वी पौडेललाई दोस्रो चरणमा पराजित गरेका थिए । पहिलो चरणमा बहुमत ल्याउन नसके पहिलो र दोस्रो स्पर्धीबीच अर्को चरणको निर्वाचन हुने विधान काँग्रेसमा रहेको छ । पहिलो स्पर्धामा तेस्रो हुनुभएका कृष्णप्रसाद सिटौलाले दोस्रो चरणमा देउवालाई समर्थन गरेका थिए ।

अघिल्लो महाधिवेशनमा तत्कालीन संस्थापन पक्षको नेतृत्व गर्नुभएका वरिष्ठ नेता पौडेललाई यसपटक सबैभन्दा चुनौती हुने देखिएको छ । यसअघि पौडेललाई नेता मानेका नेता डा। शशाङ्क कोइराला, प्रकाशमान सिंहले यसपटक पौडेल नभई आफूहरू नै उम्मेदवार बन्न लगातार बैठक गर्न थालेका छन् ।

त्यसबाहेक शेखर कोइराला, सुजाता कोइराला, रामशरण महत, अर्जुननरसिंह केसीलगायतका नेताले पनि सभापति बन्न आफ्नो समूहभित्र ‘लबिङ’ सुरु गरेपछि समूहभित्रकै व्यवस्थापन फलामको चिउरा भएको छ । समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :आषाढ २७, २०७८ आइतवार - ०८:२८:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology