काठमाडौँ । नेपाल प्रहरीले १४ लाख ५९ हजार नौ सय रुपैयाँ नगद र १ लाख ८० हजार रुपैयाँको चेकसहित २८ जुवाडेलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं महानगरपालिका–६ बौद्ध सिमलटारस्थित वाङ्चु शेर्पाको घरमा ठूलो हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा मंगलबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो।
परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुने गरी तास र जुवा खेलाएको प्राप्त सूचनाका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए।
पक्राउ परेकासँग प्रहरीले रु एक लाख ५९ हजार नौ सय, ११ हजार चार सय भारतीय रुपैयाँ, एक लाख ८० हजारको विभिन्न बैंकको चेक, ३० थान कौडा, १३ बुक खेलिरहेको तास र २१ बुक नखोलेको तास बरामद गरेको छ। पक्राउ परेकाहरुको आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताए। रासस