Logo

बुधवार, आश्विन २८ गते २०८३

images

मनसुनजन्य विपदबाट १८ लाख मानिस प्रभावित हुने अनुमान

मनसुनजन्य विपदबाट १८ लाख मानिस प्रभावित हुने अनुमान

दैनिकी न्यूज

२, आषाढ २०७८
मनसुनजन्य विपदबाट १८ लाख मानिस प्रभावित हुने अनुमान
images

काठमाडौं । यस वर्षको मनसुन २८ असारबाट सुरु भएको छ । यस वर्ष मनसुनजन्य विपदबाट देशभरमा १८ लाख मानिस प्रभावित हुने अनुमान छ । जल तथा मौसम विज्ञान विभागले विगतका वर्षहरूमा भन्दा यस वर्ष सरदरमा गत वर्षभन्दा धेरै वर्षा हुने जनाएको छ । गत वर्षको तथ्यांक हेर्दा विपद्बाट देशभरमा ५ सय ७३ जनाको ज्यान गएकोमा मनसुनजन्य विपद्बाट मात्रै ४ सय बढीको ज्यान गएको थियो ।

यस वर्ष मनसुन अवधिमा गत वर्षभन्दा जोखिम बढी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो । यस वर्ष पहाडी तथा हिमाली क्षेत्रसहित देशभर गत वर्षभन्दा बढी पानी पर्ने सम्भावना छ ।

यस वर्ष भने बाढी तथा पहिरो दुवैको पूर्वानुमान गर्न सकिनेगरी प्रणालीको विकास गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यस वर्ष मनसुनजन्य विपद्का घटनाबाट १८ लाख बढी मानिस प्रभावित हुने पूर्वानुमान गरिएको जानकारी दिए ।

उनले यस वर्ष २३ जिल्लाका १६ लाख ८७ हजार मानिस बाढी तथा डुबानबाट र २६ जिल्लाका १ लाख १७ हजार मानिस पहिरोबाट प्रभावित हुने पूर्वानुमान रहेको जानकारी दिएका हुन् ।

दार्चुला, बैतडी, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, डोटी, दैलेख, डोल्पा, हुम्ला, जुम्ला, जाजरकोट, अर्घाखाँची, बागलुङ, भोजपुर, धादिङ, गोर्खा, गुल्मी, इलाम, काभ्रेपलाञ्चोक, कास्की, खोटाङ, लमजुङलगायतका जिल्लामा पहिरोको जोखिम रहेको प्राधिकरणले जनाएको छ ।

यस्तै, कञ्चनपुर, कैलाली, बाँके, दाङ, रौतहट, सिरहा, सप्तरी, पर्सा, मोरङ, चितवनलगायतका अधिकांश जिल्लामा बाढी तथा डुबानको जोखिम रहेको छ ।

प्राधिकरणका कार्यकारी अधिकृत पोखरेलले यस वर्ष पहिरोको पूर्वानुमान ‘प्रभावमा आधारित पूर्वसूचना प्रणाली’ सुरु गरिएको जानकारी दिए । यो प्रणालीबाट पहिरोबाट हुने मानवीय क्षति कम गर्न सकिने पोखरेलले बताए ।

‘विगतमा हामीले बाढीको मात्र पूर्वानुमान गर्ने गरेका थियौं, यस वर्षदेखि पहिरोको पनि पूर्वानुमान गर्न सकिने सूचना प्रणालीमा हामी छौं, यसले मानवीय क्षति कम गर्न सक्ने अपेक्षा छ, यो प्रणाली पहिरोको अति जोखिम रहेका नौ जिल्लामा प्रयोग गरिनेछ,’ प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले भने ।

यो प्रणालीबाट जोखिममा रहेका जिल्लामध्ये कुनकुन ठाउँमा पहिरोको जोखिम बढी छ र त्यहाँ कति पानी पर्दा पहिरो जान सक्छ भन्ने भन्नेबारे प्राधिकरणले यकिन गर्न सक्छ । त्यसपछि प्राधिकरणले देशभरका सूचना एकीकृत गरी राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्र हुँदै जिल्ला र स्थानीय तहसम्म घटनाको सम्भावनाबारे जानकारी दिने गर्छ । यसरी पूर्वानुमान भएसँगै जोखिम क्षेत्रमा रहेका व्यक्तिलाई त्यहाँबाट अन्यत्र व्यवस्थापन गर्नेगरी तयारी गरिएको छ ।

प्राधिकरणले यसै गरेर नै बाढीको पूर्वानुमान गर्दै आएको छ भने यो प्रणालीबाट सूचना दिने संयन्त्रको विकास गरेसँगै बाढीबाट हुन सक्ने जनधनको क्षतिसमेत कम हुँदै आएको छ ।

यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

images
प्रकाशित मिति :आषाढ २, २०७८ बुधवार - ०६:०८:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology