Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

लागूऔषध किन्न टेलिकमको तार चोर्ने दुई जना पक्राउ

लागूऔषध किन्न टेलिकमको तार चोर्ने दुई जना पक्राउ

दैनिकी न्यूज

१४, बैशाख २०७८
लागूऔषध किन्न टेलिकमको तार चोर्ने दुई जना पक्राउ
images

झापा । मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् ।

मेचीनगर नगरपालिका(७ को नयाँ बसपार्क क्षेत्रमा नेपाल टेलिकमको केबुल तार चोरी भएपछि विगत एक हप्तादेखि पूर्वीनाका काँकडभिट्टाका १५० टेलिफोन अवरुद्ध भएका छन् भने इन्टरनेट सेवा बन्द छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालका अनुसार नेपाल टेलिकमको केवल तार चोरी गर्ने गिरोहका दुई जना भारतको पानीट्याङ्कीबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मेचीनगर(६ का १६ वर्षीय एक किशोर र भारत पानी ट्याङ्कीका २१ वर्षीय सञ्जु वर्मन रहेका छन् । आइतवार राति पानीट्याङ्कीबाट पक्राउ गरेर दुवैलाई अहिले इप्रका काँकडभिट्टाको हिरासतमा राखिएको छ ।

तार चोरीमा लामो समयदेखि गिरोह सक्रिय रहेको हुँदा अरु व्यक्तिहरुको खोजी कार्य तीव्र पारिएको दाहालले बताउनुभयो । शनिवार राति काँकडभिट्टामा फेरि ७५ मिटर तार चोरी भएपछि प्रहरीलाई अभियुक्तको खोजतलासका लागि अनुरोध गरिएको नेपाल टेलिकम कार्यालय काँकडभिट्टाका प्रमुख श्यामकुमार अधिकारीले बताउनुभयो । गएको माघयता मेचीनगरमा ३०० मिटरभन्दा बढी केबुल तार चोरी भइसकेको छ । इँटाभट्टा र धुलाबारी क्षेत्रमा समेत विगतदेखि केबुल तार चोरीका घटना भइरहेका छन् ।

तार चोरी भएसँगै त्यसक्षेत्रका १५० वटा ल्यान्डलाइन र इन्टरनेट सेवा अवरुद्ध हुँदा उपभोक्ताहरु आक्रोशित भएका छन् । ुन टेलिफोन चल्छ, न इन्टरनेट नैु, मेचीनगर(६ का पूर्णबहादुर राईले भन्नुभयो, ुआफन्तसँग फोन र भिडियो कलमा कुरा गर्न पाएका छैनौँ, केटाकेटीहरुले अनलाइनमा पढ्न पनि पाएका छैनन् ।ु

तार चोरी गर्ने गिरोहलाई तत्काल पक्राउ गरी कारबाही गर्न र टेलिकमले सेवा चाँडो चालु गर्न राईले माग गर्नुभयो । इमेलमा आएका महत्त्वपूर्ण डकुमेन्ट हेर्न र पठाउन नपाइएको सामुदायिक विकास मञ्चका अध्यक्ष सोमराज ढकालले बताउनुभयो ।

अहिले पक्राउ परेका दुवैजना लागूऔषध सेवनकर्ता रहेको प्रहरीको भनाइ छ । गिरोहले रातमा तार चोरी गरेर भारतको पानीट्याङ्की बजारमा लगेर बिक्री गर्दै आएको पाइएको छ । त्यस्तो तार प्रतिकेजी एक हजार रुपैयाँका दरले बिक्री हुने गरेको छ ।

कुलतमा फसेका युवाहरु तार चोरीमा संलग्न हुने गरेको र त्यही धन्दाबाट आर्जित रकमले लागूऔषध खरिद गरेको पाइएको हुँदा अभिभावकसमेत छोराछोरीको आचरण निगरानीमा लाग्नु पर्ने देखिएको छ। रासस

images
प्रकाशित मिति :बैशाख १४, २०७८ मंगलवार - ०८:३२:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology