Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

फैलिँदै डढेलो, मासिँदै वन

फैलिँदै डढेलो, मासिँदै वन

दैनिकी न्यूज

२८, चैत्र २०७७
फैलिँदै डढेलो, मासिँदै वन
images

काठमाडौं । सुदूरपश्चिममा तस्करले वन मास्दै गएकाप्रति चिन्ता त गरिन्छ नै, अहिले त्योभन्दा ठूलो चिन्ता डढेलोले निम्त्याएको छ । सुदूरपश्चिम प्रदेशमा डढेलोले ३० प्रतिशत वनक्षेत्र सखाप पारेको आँकलन प्रदेश वन निर्देशनालयको छ । अत्यधिक गर्मी, त्यसमाथि हावाहुरी चल्दा यहाँ राष्ट्रिय तथा सामुदायिक वन डढेलोको चपेटामा परेका हुन्। डढेलोका कारण निस्कने धुँवाका कारण वायु प्रदूषण अर्को समस्या बनेर उभिएको छ।

धनगढीका प्रदेश वन निर्देशनालय सुदूरपश्चिम निर्देशक हेमराज विष्टका अनुसार अहिले सामुदायिक र राष्ट्रिय वन डढेलोको मारमा पर्दैछ। ‘तराईबाट चुरेतर्फ हेर्दा ठाउँठाउँमा डढेलो लागेको देखिन्छ,’ उनले भने, ‘आँखाले नभ्याउने ठाउँमा त डढेलो कति हो कति१’ उनले पर्याप्त जनशक्ति र उपकरण अभावले जंगलैभरि लागेको डढेलो निभाउन आफूहरू असमर्थ भएको बताए । ‘डढेलो निभाउन सक्ने दक्ष र पर्याप्त जनशक्ति छैन,’ उनले भने, ‘न त हामीसँग आधुनिक उपकरण नै छ।’ सामान्य औजार र उपकरण किनेर सामुदायिक वनलाई भने आफूहरूले दिएको उनले बताए।

एकातिर गर्मी अर्कातिर लामो समयदेखिको खडेरी, जसले गर्दा वन क्षेत्रमा लागेको डढेलोले चाँडै फैलिन पाउने उनको भनाइ छ। ‘यसपालि हिउँदमा वर्षात् नहुँदा डढेलोको प्रकोप बढेको छ,’ उनले भने। गत वर्षको तुलनामा यो वर्ष हिउँदे वर्षा भएको छैन। हिउँदमा पानी पर्दा गिट्ठा तथा अन्य झारपात उम्रिएपछि आगलागीका घटनामा कमी आउने भए पनि यसपालि भने पानीसमेत नपर्दा समस्या आएको उनले बताए। ‘हिउँदे वर्षा नहुनु र खडेरीले गर्दा यसपालि डढेलोको जोखिम बढी छ,’ उनले भने, ‘डढेलोबाट वन जोगाउन सबैभन्दा बढी खाँचो जनचेतनाको छ ।’ समुदायमा रहेका केही गलत सोचका कारण मानिसले जंगलमा आगजनी गर्ने गरेको उनले बताए।

‘सामुदायिक वनमा विमति राख्नेहरुले डढेलो लगाइदिन्छन् र उपभोक्ताले दुःख पाउँछन्,’ उनले भने। गर्मीको मौसम त्यसमा पनि सुकेका पातपतिंगर र सुकेका ढलापडा काठले डढेलो फैलाएको विष्टले बताए। ‘त्यसलाई व्यवस्थापन गर्न नसक्दा डढेलोले बर्सेनि जंगल सखाप पार्दैछ,’ उनले भने। डढेलो लाग्दा ढलापडा रूख नासिने चिन्ता एकातिर छ भने अर्कोतिर पुनरुत्पादन पनि बिग्रने गरेको उनले बताए। ‘डढेलोले एक त ढलापडा रूख सल्कँदा राजस्व गुम्छ,’ उनले भने, ‘अर्कोतर्फ रुखमा आगो सल्कँदा धेरै दिनसम्म रहिरहने भएकाले डढेलो नियन्त्रण गर्न गाह्रो हुने गर्छ।’ डढेलोले पुनरुत्पादनमा समस्या पर्ने गरेको उनले जानकारी दिए। ‘भर्खरका बिरुवा र हुर्केबढेका पोथ्रापाथ्री सबैभन्दा बढी मासिने गरेका छन्।’ डढेलोले कारण उत्पादनलाई पछि पार्नुका साथै पारिस्थितिक प्रणालीलाई पनि समाप्त गर्ने गरेको उनले बताए।

जंगलमा डढेलो लगाउँदा चरिचरनका लागि नयाँ घाँस पलाउने भन्ने गलत मानसिकताका कारण स्थानीयले नै जानीजानी डढेलो लगाउने गरेका छन्। निर्देशक विष्टले भने, ‘जंगलमा आगो लगाउँदा पालुवा पलाउँछ र घाँस काट्न सजिलो हुन्छ भनेरै यहाँका किसानले डढेलो लगाउने गरेका छन्।’ जनचेतनाको कमीका कारण बर्सेनि यहाँको जंगल डढेलोले सखाप भइरहेको उनले बताए। ‘हामीले जनचेतना जगाउने कार्यक्रम ल्याउनुका साथै प्रत्येक सामुदायिक वनलाई डढेलो नियन्त्रणका लागि प्रयास गर्न निर्देशन दिएका छौं।’ सुदूरपश्चिममा रहेका सबै एफएम रेडियोमार्फत जनचेतनामूलक सन्देश दिइएको उनले बताए। नागरिक दैनिकबाट

images
प्रकाशित मिति :चैत्र २८, २०७७ शनिवार - ०७:१९:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology