काठमाडौं । महानगरीय प्रहरी परीसर ललितपुरले ट्राफिकसहितको आज सवारी जाँचका क्रममा नियम उल्लंघन गर्ने ४३५ चालकलाई कारवाही गरेको छ ।
होलीको अवसरमा ललितपुरका १३ स्थानमा गरेको सवारी चाँचका क्रममा उनीहरूलाई यसरी कारवाही गरेको परीसर ललितपुरले जनाएको छ ।
ट्राफिक व्यवस्थापनको योजना तयार गरी होलीमा हुनसक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै बिहानदेखि साँझसम्मै सुरक्षा कडा पारी जाँच गरिएको परीसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले जानकारी दिए ।
होली मनाउन उच्छृृंखल तरिकाले सवारी साधनको प्रयोग गर्ने, तिब्रगति र जिकज्याक गरी मोटरसाइकल चलाउने, मादक पदार्थ तथा लागु औषध सेवन गरी हुईंक्याउने, तीन जना चढ्ने, हेल्मेट नलगाउनेजस्ता गतिविधिमा संलग्न चालक उपर निगरानी बढाई कारवाही गरिएको उनले बताए ।

परीसर ललितपुरले ४३५ जना चालकलाई ट्राफिक कारवाही, १६५ सवारी साधन होल्ड, ४९८ सवारी साधनका चालकलाई सम्झाई बुझाई पठाइएको, १६ जना चालकलाई नियन्त्रणमा लिइएकोे छ । लागु औषध सेवा गर्ने ३ जनालाई नियन्त्रणमा लिइएको र मादक पदार्थ सेवन गरी होहल्ला गर्ने मोटरसाइकललाई कारवाही गर्न खोज्दा एक हजार नगद दिन खोज्ने हरिसिद्धिका भक्तराज महर्जनलाई कारवाहीका लागि सातदोबाटो वृत्तमा पठाएको परीसर ललितपुरले जनाएको छ ।