काठमाडौं । काठमाडौं उपत्यकामा आज आइतवारबाट मेलम्चीको खानेपानी वितरण हुँदै छ । सरकारले आज बिहान ८ देखि १० बजेसम्म काठमाडौंका चार स्थानबाट मेलम्ची खानेपानीे औपचारिक रूपमा वितरण गर्दै छ ।
२०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी उपत्यकामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको ३ दशकपछि उपत्यकावासीले मेलम्चीको खानेपानी प्रयोग गर्न पाउँदै छन् ।
पटकपटक भाखा सारिँदै आएको र उपत्यकावासीको सपना नै बनेको मेलम्चीको पानी आज पहिलो दिन काठमाडौंका चार स्थान खुमलटार, अनामनगर, मीनभवन र महाँकालबाट वितरण गरिँदै छ । आइतवार ९आज० बिहान ८ देखि १० बजे नभए कुनै पनि समयमा यी स्थानबाट मेलम्चीको पानी वितरण गरिने मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठले जानकारी दिए ।
एक हप्तामै दैनिक साढे ८ करोड लिटर पानी वितरण हुने भनिए पनि पाइपमा हुने ओभर लोडलाई ध्यानमा राख्दै आज जम्मा करीब ४ करोड लिटर पानी वितरण गर्ने तयारी छ ।
काठमाडौंका यी स्थानमा पानी वितरण गर्न सुन्दरीजलबाट दैनिक करीब ४ करोड लिटर पानी आउने भन्दै श्रेष्ठले २ दिनपछि अर्थात् मंगलवारबाट साढे ६ करोड र त्यसको २ दिनपछि अर्थात् बिहीवारबाट भने दैनिक साढे ८ करोड लिटर पानी वितरण हुने बताए । काठमाडौं उपत्यकामा दैनिक १७ हजार लिटर पानी ल्याउने गरी सुन्दरीजलमा साढे ८ करोड लिटरका २ ओटा ट्रिटमेन्ट प्लान्ट तयार छन् । एउटा प्लान्ट परीक्षण हुनै बाँकी रहेकाले हाल साढे ८ करोड लिटर पानी आउने भएको हो ।
आजबाट वितरण गरिने पाइपलाइनमा एकैपटक लोड पर्दा कुनै समस्या आउने हो कि भन्ने विचार गर्दै कमकम पानी छोडी १ हप्ताभित्र पूरा साढे ८ करोड लिटर पानी वितरण गर्न लागिएको श्रेष्ठको भनाइ छ । त्यसपछि यी चार स्थानबाहेक अन्य स्थानमा पनि पानी वितरणको प्रक्रिया अघि बढाउने तयारी छ । काठमाडौंको कीर्तिपुर र भक्तपुरको पानीट्यांकीको काम केही बाँकी रहेकाले दोस्रो चरणमा मात्रै यी स्थानमा पानी वितरण गरिनेछ । श्रेष्ठका अनुसार उक्त पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले हाल वितरण गर्दै आएको प्रणाली र आयोजनाले नयाँ थपेको पाइपलाइनमार्फत वितरण हुनेछ ।
यो खबर आजको आर्थिक अभियानमा हिमा वि.क.ले लेखेका छन् ।