Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

जसपामा दुई समूह छुट्टाछुट्टै भेला

जसपामा दुई समूह छुट्टाछुट्टै भेला

दैनिकी न्यूज

७, चैत्र २०७७
जसपामा दुई समूह छुट्टाछुट्टै भेला
images

काठमाडौं । नयाँ समीकरण निर्माणका विषयमा पार्टीका शीर्ष नेता दुई कित्तामा बाँडिएपछि जनता समाजवादी पार्टीका दुई समूहले छुट्टाछुट्टै बैठक गरेका छन्। पूर्व समाजवादी पार्टीका नेताले पार्टी कार्यालय बालकुमारीमा शुक्रबार बैठक गरेका छन्। पूर्व राष्ट्रिय जनता पार्टी नेपालका नेताले भने बिहीबार नै छुट्टै बैठक गरेका थिए।

तत्कालीन राजपा र समाजवादी पार्टीबीच एकीकरण हुनुअघि समाजवादी पार्टीको कार्यालय बालकुमारीमा थियो। एकीकरणपछि पनि जसपाको कार्यालय बालकुमारीमै राखिएको छ। बालकुमारीमा आयोजित भेलामा पूर्व समाजवादीका नेताहरूलाई मात्र बोलाइएको पूर्व समाजवादीका सचिव इस्तियाक राईले बताए। ‘हिजो ९बिहीबार० पूर्व राजपाले भेला बोलायो भन्ने सुन्यौं। आज हामीले बैठक बोलायौं’, राईले भने, ‘हामीले बोलाएको बैठक समायोजनको विषयमा केन्द्रित थियो।’ सो बैठकमा पूर्व समाजवादीका सबै शीर्ष नेताको उपस्थिति थियो।

पूर्व राजपाले बिहीबार साँझ इन्द्रेणी फुडल्यान्डमा भेला बोलाएको थियो। भेलामा तत्कालीन जसपा अध्यक्ष मण्डलका ६ सदस्यमध्ये ५ जना उपस्थित थिए। एकजना सदस्य महेन्द्र यादव भने बैठकमा उपस्थित भएनन्। पछिल्लो समयमा उनले उपेन्द्र यादवलाई साथ दिँदै आएका छन्।

इन्द्रेणी फुडल्यान्डमा पूर्व राजपा नेताहरूको भेला बोलाइएको पूर्व राजपाका महासचिव राजीव झाले स्वीकार गरे।

यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।

images
प्रकाशित मिति :चैत्र ७, २०७७ शनिवार - ०७:०२:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology