Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

सरकारको नेतृत्वका लागि भरपर्दो वातावरण खोज्दै कांग्रेस

सरकारको नेतृत्वका लागि भरपर्दो वातावरण खोज्दै कांग्रेस

दैनिकी न्यूज

१, चैत्र २०७७
सरकारको नेतृत्वका लागि भरपर्दो वातावरण खोज्दै कांग्रेस
images

काठमाडौं । नयाँ सत्तासमीकरणका लागि दलबीच दौडधूप चलिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नेतृत्वका लागि उचित वातावरणको खोजी गर्न थालेको छ । उसले उचित वातावरण बनेमा आफू नेतृत्व लिन तयार रहनेसमेत स्पष्ट पारेको छ । तर, कांग्रेसले भरपर्दो वातावरणको सुनिश्चितता भइसकेको बताएको छ । कांग्रेसले नयाँ सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट भरपर्दो विश्वासको वातावरण खोजिरहेको हो ।

कांग्रेस आन्तरिक रूपमा त्यसतर्फ अघि बढिरहेको छ । कांग्रेसभित्र सरकारको नेतृत्व लिने पक्षमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला एक मत छन् । वरिष्ठ नेता पौडेल र सिटौलाले देउवालाई सरकारको नेतृत्वका लागि अघि सर्न आग्रहसमेत गरिरहेका छन् । यद्यपि, देउवा केही दिन अघिसम्म कांग्रेस नेतृत्वमा जान नहुने अडानमा थिए । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकारको विकल्प खोज्न कांग्रेस तयार रहेको बताए तर हतार नगरी भरपर्दो वातावरणको सुनिश्चितता कांग्रेसले खोजिरहेको उनले जानकारी दिए । ‘सरकारको नेतृत्व लिन कांग्रेस तयार छ तर हतार गर्ने कुरा होइन, जोड– घटाउको कुरा हुन्छ । त्यसका लागि भरपर्दो वातावरण बनाउँदै अघि बढ्नुपर्छ,’ कांग्रेस सहमहामन्त्री महतले भने ।

कांग्रेसले नयाँ सरकारमा सत्ता सहकार्यबारे शुक्रबार जसपाका नेतासँग पदाधिकारीसहित छलफल गरेको थियो । सोक्रममा जसपाका नेताले प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको कांग्रेसले नै सरकारको नेतृत्व लिएर मुलुकलाई राजनीतिक गतिरोधबाट मुक्त गर्नुपर्ने धारणा राखेका थिए । कांग्रेससँग सहकार्य गर्ने पक्षमा माओवादी केन्द्रसमेत अघि बढिसकेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति देउवालाई पटकपटक भेटेर सरकारको नेतृत्व लिने दिशामा अग्रसर हुन आग्रह गर्दै आइरहेका छन् ।

शुक्रबार देउवा निवास बूढानीलकण्ठमा भएको कांग्रेस पदाधिकारी र जसपा शीर्ष नेतृत्वबीचको छलफलमा समेत सत्ता सहकार्यका लागि गठबन्धन बनाउने सहमति बनेको थियो । बैठकमा जसपा नेताले ओलीले नेतृत्व गरेको एमालेबाहेकका दलबीच गठबन्धन बनाएर सरकारको नेतृत्व लिन कांग्रेसलाई सर्तसहितको प्रस्ताव गरेका थिए । जसपाका नेताले कांग्रेस नेतृत्वसँग संविधान संशोधन, आफ्ना नेता तथा कार्यकर्ताको रिहाइ र नागरिकता समस्या समाधानको एजेन्डा पेस गरेका थिए ।

यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

images
प्रकाशित मिति :चैत्र १, २०७७ आइतवार - ०५:३७:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology