काठमाडौं । गुल्मी, महोत्तरी, कैलाली, सिरहा र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।
गुल्मी, रेसुङगा नगरपालिका–१४ ठुलापँधेरास्थित सडकमा लु १ ज १९८८ नम्बरको जीप सडकबाट करिब ६ सय मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा जिपमा सवार सोही ठाउँ बस्ने बस्ने ४७ वर्षीय एकराज पोख्रेल, २८ वर्षीया शान्ती नेपाली र २७ वर्षीया गोमा नेपाली रहेका छन् । एकराजक घटनास्थलमै तथा शान्ती र गोमाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका चालक समेत ८ जनामध्ये ४ जनालाई जिल्ला अस्पताल हुँदै थप उपचारका लागि पाल्पा रिफर गरिएको छ भने अन्य ४ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
महोत्तरी, बलबा नगरपालिका–८ स्थित सडकमा अनटेष्ट लेखिएको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने कैलाश यादवको ७ वर्षीय छोरा शिबम यादबको बुधाबर दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । सोही नगरपालिका–७ स्थित कारिकबाबा बोर्डिङ्ग स्कुल बनौटामा सरस्वति पूजामा बनाएको सरस्वती मूर्ति सेलाउनको लागि गाउँमा घुमाईरहेको अवस्थामा उक्त ट्याक्टरले ठक्कर दिँदा उनको मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
कैलाली, लम्कीचुहा नगरपालिका–१० स्थित सडकमा ना।५ ख ८४०६ नम्बरको ट्रकले अनटेष्ट लेखिएको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका–४ बस्ने २४ वर्षीय दिनेश चौधरी र मोटरसाइकलमा सवार जानकी गाउँपालिका–१ बस्ने १८ वर्षीया सन्ध्या चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका दिनेशको स्थानीय लालरत्न अस्पतालमा र सन्ध्याको मेडिकल कलेज कोहल्पुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिरहा, लहान नगरपालिका–३ बलानस्थित सडकमा प्र १–०२–००१ ख ८५१४ नम्बरको टिपरले स।११ प ४८२७ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरी खडक नगरपालिका–८ खेस्राहा बस्ने २३ वर्षीय मो।जाहिरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि लहान अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरी, रामधुनी नगरपालिका(२ धर्मकाटास्थित सडकमा को २ च ३३१२ नम्बरको पिकअप र को ३१ प ३१४७ नम्बरको मोटरसाइकल एक(आपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका(३ बस्ने २२ वर्षीय सुरज चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सुरजको बिराट नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।