Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

थप ट्राफिक स्वयंसेवक परिचालन गर्दै ट्राफिक महाशाखा

थप ट्राफिक स्वयंसेवक परिचालन गर्दै ट्राफिक महाशाखा

दैनिकी न्यूज

३, फाल्गुण २०७७
थप ट्राफिक स्वयंसेवक परिचालन गर्दै ट्राफिक महाशाखा
images

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरूस्त तथा सहज बनाउने उद्देश्यका साथ ट्राफिक स्वयंसेवक परिचालन गरेको छ ।


महाशाखा र उपत्यकास्थित सामुदायिक सेवा केन्द्रको सहकार्यमा ३०० जना ट्राफिक स्वयंसेवकलाई प्रशिक्षण गरि काठमाडौँका विभिन्न चोक जक्सन, आकाशेपुल र जेब्राक्रसिङमा परिचालन गरिएको छ । महाशाखाले स्वयंसेवकलाई १० दिन सम्म उपत्यकाका विभिन्न सवारी चाप हुने स्थानमा परिचालन गर्ने जनाएको छ ।

काठमाडौं उपत्यकाको सवारी चाप हुने तथा बढी भीडभाड हुने स्थानमा सहज र सुरक्षित आवागमन गर्ने लक्ष्य सहित ट्राफिक स्वयंसेवक परिचालन गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए । स्वयंसेवकले आकाशेपुल तथा फुटपाथको प्रयोग नगर्ने पैदलयात्रुहरुलाई सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै जथाभावी बाटो नकाट्ने र नियम पालना गर्न सन्देश प्रबाह गर्ने एसएसपि भट्टराईले जानकारी दिए ।

स्वयमसेवक परिचालन बाट काठमाडौंको ट्राफिक व्यवस्थापनमा आम जनमानसले थोरै भएपनि राहत महशुस गर्ने र आम सडक प्रयोगकर्तालाई सहजता मिल्नेमा आफु विश्वस्त रहेको भट्टराईले बताए ।

उपत्यकामा बर्षेनी सुरक्षित सडक प्रयोग नगर्दा धेरै पैदलयात्रुहरु दुर्घटना परि अनाहकमा ज्यान गुमाउनुको साथै अंगभङ्ग हुने गरेको छन् । सडक सुरक्षा तथा ट्राफिक नियमलाई बेवास्ता गरि लापरबाहि तरिकाले सडक पार गर्ने र जथाभावी हिड्डुल गर्दा दुर्घटनाको जोखिम उच्च रहने र सडक व्यवस्थापनमा समेत असर गर्ने हुनाले त्यसलाई रोक्न ट्राफिक स्वयंसेवक परिचालन एउटा प्रभावकारी उपाय हुने महाशाखाले जनाएको छ ।

यस अघि महाशाखाले नेपाल स्काउट, युवा बिद्यार्थीहरुलाई समेत प्रशिक्षण दिई बिभिन्न चरणमा ट्राफिक स्वयमंसेवक परिचालन गरिएको र त्यसको प्रभावकारिता सँगै यसलाई निरन्तरता दिएको बताएको छ ।

कार्यक्रममा प्रहरी अधिकृतहरु, उपत्यका स्थित सामुदायिक सेवा केन्द्रका अध्यक्ष तथा पदाधिकारीहरु तथा ट्राफिक स्वयमंसेवकहरुको उपस्थिति रहेको थियो । स्वयंसेवकको उपयोगिता र सफलता हेरेर आगामी दिनमा थप परिचालन बढाउँदै लगिने महाशाखाले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०७७ सोमवार - १९:५६:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology