Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

काठ सहज भएपछि निर्माण कार्य अघि बढ्यो

काठ सहज भएपछि निर्माण कार्य अघि बढ्यो

दैनिकी न्यूज

३, फाल्गुण २०७७
काठ सहज भएपछि निर्माण कार्य अघि बढ्यो
images

काठमाडौं । सहजरूपमा काठ आउन थालेपछि विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ दरबार क्षेत्र (हनुमानढोका क्षेत्र) का ऐतिहासिक सम्पदा पुनःनिर्माणले गति लिएको छ । दुई महिनाअघि लामो काठको अभावमा निर्माण भइरहेका एतिहासिक सम्पदाको काम अघि बढ्न सकेको थिएन ।

विगत दुई हप्ताअघिदेखि काठ आयातमा सहज भएपछि निर्माणको कामले पुनः गति लिएको हो । ठूला र लामो काठको अभावमा यस क्षेत्रको नौतले दरबार र दश अवतार मन्दिरको काम अवरुद्ध भएको थियो । अहिले ती दुवै सम्पदाको निर्माणको काम तीव्ररुपमा भइरहेको छ । यी दुवै सम्पदा निर्माणका लागि १० फिटभन्दा लामा काठ आवश्यक परेको थियो ।

निर्माणको चरणमा रहेको ऐतिहासिक नौतले दरबारको निर्माणको काम ८० प्रतिशत र दश अवतार मन्दिरको ७० प्रतिशत काम सम्पन्न भएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो । यस क्षेत्रका २७ सम्पदा पुनःनिर्माण सम्पन्न भइसकेका छन् । यहाँ रहेका ७० सम्पदामध्ये १२ वटामा भूकम्पले क्षति गरेको थिएन । भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये ११ वटाको पुनःनिर्माण भइरहेको अड्डाले जनाएको छ ।

प्रमुख खनालका अनुसार अहिले बनिरहेका सम्पदाको काम नसकी काम शुरु गर्न नमिल्ने भएकाले २० सम्पदाको काम अझै हुन सकेको छैन । हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुनःनिर्माण भइरहेको छ । कोरोना महामारीका कारण नौतले दरबार पुनःनिर्माणमा केही ढिलाइ भएको छ । नौतले दरबार सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको अड्डाले जनाएको छ ।

यसैगरी गद्दी बैठक अमेरिकाको सहयोगमा पुनःनिर्माण सम्पन्न भइसकेको छ । जगन्नाथ र गोपीनाथ मन्दिर वाग्मती प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पुनःनिर्माण भइरहेको छ । नासलचोक पश्चिमको राणाकालीन सेतो भवन र नासलचोक तथा गद्दी बैठकबीचको भवन पनि हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिमार्फत पुनःनिर्माण भइरहेको छ । आगम्छे घर र शिव मन्दिर जापानी सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा पुनःनिर्माण भइरहेको बताइएको छ । मोनकाली चोक, मूलचोक, नासल चोकलगायतको चोक यहाँका अन्य महत्वपूर्ण सम्पदा हुन् । रासस

images
प्रकाशित मिति :फाल्गुण ३, २०७७ सोमवार - ०९:१९:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology