काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतबाट अवैध काठसहित सात जनालाई पक्राउ गरेको छ ।
प्रहरीले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर नगरपालिकाका–१० सुर्खेत निवासी ५२ वर्षीय टेकबहादुर दर्लामीको घरमा लुकाइछिपाइ राखेको ६.९३ क्युफिट गोलिया काठ र १२।८६ चिरान काठ गरी १९.७९ क्युफिट काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
“दर्लामीले सोही वडास्थित चुईयाँ पानी नजिकै गोलखाडल सामुदायिक वनबाट गोलिया काठ र चिरान काठ चोरी लुकाएका रहेछन्”, प्रहरी नायब उपरीक्षक घर्तीले भने, “उनीसँगै सोही वडाका ४२ वर्षीय बुद्धि छम्तेल, २६ वर्षीय दीपक दर्लामी, १९ वर्षीय झमन खप्तडी र गोपाल पाण्डे, १८ वर्षीय नवीन राना र सुमन छम्तेललाई पक्राउ गरिएको छ ।”
पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि सव वन डिभिजन कार्यालय दशरथपुर सुर्खेतका रेन्जर घनश्याम चपाईंको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । रासस