Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

फेरि पश्चिमी वायुको प्रभावः वर्षाको सम्भावना भने कमै

फेरि पश्चिमी वायुको प्रभावः वर्षाको सम्भावना भने कमै

दैनिकी न्यूज

२८, माघ २०७७
फेरि पश्चिमी वायुको प्रभावः वर्षाको सम्भावना भने कमै
images

काठमाडौं । पश्चिमी वायुको प्रभावले बुधवार देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । मंगलवार बेलुकादेखि देशको पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहको बताइएको छ ।

यस प्रणालीको प्रभावले वर्षाको सम्भावना भने कमै रहेको मौसमविद् निराजन सापकोटाले बताए । उक्त प्रणालीमा जलवाष्पयुक्त हावा कम भएकाले वर्षा हुने सम्भावना कम रहेको हो उनले भने, ‘हिउँद याममा १४ मिलिलिटर वर्षा हुनुपर्नेमा हालसम्म १ दशमलव ३ मिलिलिटर मात्र वर्षा भएको छ ।’

यसअघि गत बिहिबारदेखि शनिवारसम्म प्रभाव रहेको पश्चिमी वायु त्यति शक्तिशाली नभएकाले कमजोर किसिमको मौसमी प्रणाली बुधवार साँझबाटै हट्ने महाशाखाका वरिष्ठ मौसमविद सापकोटाले बताए ।

मौसमविद्का अनुसार अझै केही दिन ठूलो वर्षाको सम्भावना रहेको छैन् । सो प्रणालीको प्रभाव साँझापखबाट हटेर जाने विभागले जानकारी दिएको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भू–भागमा बिहानपख हुस्सुरकुहिरो लाग्न सक्ने हुँदा चिसो अझै रहिरहने देखिएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।

हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, प्रदेश नं १ तथा वाग्मती प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागमा थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै हिमाली भू–भागका हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । राजधानी काठमाडौंको उत्तरी क्षेत्रमा साँझपख हल्का वर्षाको सम्भावना रहेको मौसमविद सापकोटाले बताए ।

रातिको समयमा बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं २ र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं का पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहीवार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ । माघ ३० गते शुक्रबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बुधवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव सात डिग्री र अधिकतम तापक्रम २३ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै बुधवार सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस शून्य दशमलव ६ डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १२ दशमलव २ डिग्री सेल्सियस रहेको छ । रासस

images
प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - १६:५४:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology