Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

एक सातामै गोलभेँडाको मूल्य आधाले घट्यो

एक सातामै गोलभेँडाको मूल्य आधाले घट्यो

दैनिकी न्यूज

२६, पौष २०७७
एक सातामै गोलभेँडाको मूल्य आधाले घट्यो
images

लालबन्दी । गोलभेँडाको शहर भनेर चिनिने सर्लाहीका किसान एक सातामै गोलभेँडाको मूल्य आधाले घटेपछि मारमा परेका छन् । उत्पादनको मध्ययाममा गोलभेँडाको मूल्य ह्वात्तै घटेको हो । एक साता अघिसम्म यहाँका किसानले गोलभेँडा प्रतिक्रेट एक हजारभन्दा बढीमा बिक्री गरेका थिए ।

आज किसानले गोलभेँडा एक क्रेटको ४५० देखि पाँच सय रुपियाँमा बिक्री गरिरहेका छन् । यसरी निरन्तर मूल्य ओरालो लाग्दा गोलभेँडाको उत्पादन लागत नै नउठने अवस्था आएको किसानको गुनासो छ । गोलभेँडाको मूल्य ह्वात्तै घट्दा ठूलो मार परेको लालबन्दी नगरपालिका–१०, चन्द्रपुरका किसान उदय पाख्रिनले गुनासो गरे ।

‘पाँच बिघामा लगाएको गोलभेँडामध्ये भर्खर ३०९३५ हजार रुपियाँको बेचेको छ तर बजारमा मूल्य आधाभन्दा बढीले घटिसक्यो’, पाख्रिनले निराश हुँदै भने, ‘यसैगरी दिनहुँ मूल्य घट्यो भने उत्पादन लागत समेत उठ्ने अवस्था छैन् ।’ थोरै उत्पादन हुँदा किसानले गोलभेँडाको राम्रो मूल्य पाएपनि अहिले अत्यधिक उत्पादन हुन थालेपछि मूल्य घटेको हो । उत्पादन बढिरहेकाले गोलभेँडाको मूल्य अझै ओरालो लाग्ने अवस्था रहेको किसानहरुले बताएका छन् ।

सुरुमा थोरै उत्पादन हुँदा र खेती सक्किने बेला राम्रो मूल्य पाएपनि यो समयमा बर्सेनि गोलभेँडाको मूल्य घट्ने गरेको हरिवन नगरपालिका–२, अत्रौलीका किसान बाबुलाल दोङले बताए । ‘बजारमा धेरै भित्रिएको बहानामा व्यापारीले हरेक वर्ष यो समयमा गोलभेँडाको मूल्य घटाउँदा किसान मारमा पर्ने गरेका छन्’, उनले भने ।

लालबन्दी बजारका थोक व्यापारी राकेश ढुङ्गेलले किसानले उत्पादन गरेको अनुसार बाहिर निकासी नहुँदा गोलभेँडाको मूल्य घटेको बताउनुभयो । ‘यो समय गोलभेँडा अत्यधिक फल्ने समय हो तर माघे संक्रान्तिले गर्दा गोलभेँडा भन्दा पनि काठमाण्डौंका बजारमा तरुलको माग धेरै छ, ढुङ्गेलले भने, संक्रान्तिसम्म अब गोलभेँडाको मूल्य कम नै हुन्छ ।’ बजारमा भारतीय गोलभेँडा समेत प्रशस्त भित्रिएकाले यहाँ उत्पादन भएको गोलभेँडाको मूल्य घटेको व्यापारीहरुले बताएका छन् ।

सर्लाहीको लालबन्दी र हरिवन नगरपालिकाको उत्तरी भेगका किसानले व्यावसायिक रुपमा उत्पादन गर्ने गोलभेँडा लालबन्दी बजारमा ल्याएर बेच्ने गरेका छन् । यहाँको गोलभेँडा काठमाण्डौं, पोखरा, बुटवल लगायत देशका ठूला शहरहरुमा निर्यात हुने गरेको छ ।

लालबन्दी तरकारी बजार व्यवस्थापन समितिका अनुसार अहिले लालबन्दी बजारबाट दैनिक साँढे तीनसयदेखि चार सय क्विन्टल गोलभेँडा बाहिर निकासी भइरहेको छ । यहाँ मङ्सिरदेखि फागुनसम्म गोलभेँडा उत्पादन हुने गरेको छ । आजको गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :पौष २६, २०७७ आइतवार - ०८:०९:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology