Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

भारतमा बर्डफ्लु देखिएपछि कुखुरा तथा मासुजन्य वस्तु आयातमा रोक

भारतमा बर्डफ्लु देखिएपछि कुखुरा तथा मासुजन्य वस्तु आयातमा रोक

दैनिकी न्यूज

२४, पौष २०७७
भारतमा बर्डफ्लु देखिएपछि कुखुरा तथा मासुजन्य वस्तु आयातमा रोक
images

काठमाडौं । नेपाल सरकारले बर्ड फ्लू भित्रिन नदिन तत्कालका लागि कुखुरा तथा मासुजन्य वस्तु आयातमा रोक लगाएको छ । त्यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशुसेवा विभागले देशभरका आठओटा क्वारेन्टाइन कार्यालयअन्तर्गत २४ ओटा क्वारेन्टाइन चेक पोस्टलाई निर्देशन दिइसकेको छ ।

विगत १ सातादेखि भारतका हिमाचल प्रदेश, केरलालगायत विभिन्न राज्यमा हजारौं संख्यामा चरा तथा हाँसहरू मर्न थालेपछि नेपालमा पनि सर्तकता स्वरूप यस्तो कदम चालिएको हो । बर्ड फ्लू भित्रिन नदिन पशुसेवा विभागले बिहीवार देशभरका २४ ओटा क्वारेन्टाइन चेक पोस्टलाई उच्च सर्तकता साथ रहनसमेत निर्देशन दिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि सूचना जारी गर्दै कुनै पनि पक्षी तथा मासुजन्य वस्तुहरू देशबाहिर निर्यात तथा आयात गर्न बन्द गरिएको बताएको छ । त्यसका लागि काँकडभिट्टादेखि गड्डाचौकीसम्मका क्वारेन्टाइन स्थलहरूलाई निर्देशन दिइएको छ । मन्त्रालयले पशु सवास्थ्य तथा पशु सेवा ऐन २०५५ बमोजिम हालका लागि आयात निर्यात बन्द गरेको मन्त्रालयका प्रवक्ता डा श्रीराम घिमिरेले बताए । यदि कसैले अवैध रूपमा मासुजन्य वस्तु भित्र्याएको पाइएमा बर्ड फ्लूरोग निर्देशिका आदेश २०६४ बमोजिम कारबाही हुने उनले जानकारी दिए ।

पशुसेवा विभागका सूचना अधिकारी डा चन्द्र ढकालले पशुपक्षीमा लाग्ने सरुवा रोग नियन्त्रण तथा रोकथामसम्बन्धी तालिम लिएका तत्काल प्रतिकार्य समूहका पशु चिकित्सकहरूको टोलीलाई तयारी अवस्थामा राखिएको जानकारी दिए । खुला सिमानका कारण नेपालमा पनि रोग भित्रिन सक्ने सम्भावना प्रबल भएका कारण चिकित्सकहरूको टोली र त्यसका लागि आवश्यक पर्ने उपकरणहरू समेतलाई पूर्व तयारी अवस्थामा राखिएको उनले बताए । (आर्थिक अभियान)

images
प्रकाशित मिति :पौष २४, २०७७ शुक्रवार - ०५:४९:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology