Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

वातावरणमा केही सुधार, प्रदूषणको जोखिम कायमै

वातावरणमा केही सुधार, प्रदूषणको जोखिम कायमै

दैनिकी न्यूज

२४, पौष २०७७
वातावरणमा केही सुधार, प्रदूषणको जोखिम कायमै
images

काठमाडौँ । वायु प्रदूषणले बिग्रिएको काठमाडौँ लगायतका साथै नेपालका विभिन्न सहरको वातावरण केही सुधार भए पनि अझै अस्वस्थकर नै छ ।

सोमबार र मङ्गलबारको तुलनामा बिहीबार केही सुधार भए पनि अझै मानव स्वास्थ्यका लागि उपयुक्त हुने गरी वायुको गुणस्तर सुधार भई नसकेको वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले जानकारी दिनुभयो । उहाँले अझै सतर्कता अपनाउन पनि सुझाव दिनुभयो ।

विभागको वायु प्रदूषण मापन यन्त्रले वायुको अवस्था ‘अति हानिकारक’बाट ‘अस्वस्थकर’ सूचाङ्क देखाइरहेको छ । पीएम २।५ को आधारमा विभागले गरिरहेको विश्लेषणअनुसार काठमाडौँको वायुको सूचाङ्क बुधबार २२८।९२५ माइक्रोग्राम प्रतिघनमिटर प्रदूषण कायम रहेको छ ।

पीएम २.५ माइक्रोन भन्नाले वायुमा रहेको सबैभन्दा सूक्ष्म कण हो । कपालको रौँभन्दा २५ गुना सानो कण जुन हावाको माध्यमबाट सजिलै मानिसको फोक्सोसम्म पुगेर बिरामी तुल्याउन सक्छ । यो माक्स लगाएर हिँड्दा पनि सजिलै मानिसको शरीरमा प्रवेश गर्न सक्छ ।

योभन्दा सात गुणा ठूलो पीएम १० माइक्रोग्राम प्रतिघनमिटरको कण भने आगो बाल्दा वा घर भत्काउँदा निस्कने कण जत्तिको हुन्छ । रौँ जत्रो कण भने ७० माइक्रोग्राम प्रतिघनमिटरको धुलोको कण हो । हाल वायुमा रहेको धुलोको कणमा भने सबैथरिको मिश्रण रहेको पाइएको छ । त्यसको विश्लेषण विभागले गरिरहेको जनाएको छ । बुधबार बिहानैदेखि बादल हटेर हावा चल्न थालेकाले प्रदूषणयुक्त वायु तल्लो तहबाट माथितिर उक्लन थालेको हो तर हावाको वेग राम्रो नरहेकाले उपत्यकाको डाँडाछेउमा छेको लागेर तुवाँलोको रूपमा प्रदूषणयुक्त वायु बसिरहेको छ ।

काठमाडौँसहित जनकपुर, विराटनगर, मकवानपुर, चितवन, पोखरासहितका सहरको वायु अस्वस्थकर प्रदूषणयुक्त रहेको छ । त्यसले अत्यावश्यक कामबाहेक अझै पनि घरबाहिर धेरै हिँडडुल नगर्न विभागले सुझाएको छ । लामो समय पानी नपर्दा स्थानीय वायुमण्डलमा तैरिएको धुलो, धुवाँसँगै पश्चिमी वायुले भारतहुँदै ल्याएको धुलोका कणका कारण विगत दुई दिन काठमाडौँलगायत नेपालका सहरको वातावरण ‘अति हानिकारक’ अवस्थामा पुगेको थियो ।

यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ । 

images
प्रकाशित मिति :पौष २४, २०७७ शुक्रवार - ०५:४२:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology