काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ अध्यक्ष माधवकुमार नेपाल पक्षले पनि बुधबार निर्वाचन आयोगमा पार्टीका केन्द्रीय कमिटी सदस्यहरूको हस्ताक्षर बुझाएका छन् ।
यसअघि नेकपा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट विस्तारित केन्द्रीय समितिको नामावली आयोगमा प्रस्तुत भइसकेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपाका दुवै पक्षबाट आआफ्ना पक्षकोे दाबीसहित हस्ताक्षर आयोगमा बुझाइएको र त्यसलाई दर्ता गरिएको बताए ।
उनले नेकपा प्रचण्ड–नेपाल समूहबाट २८७ जनाको हस्ताक्षर भएको विवरण आयोगलाई प्राप्त भएको जानकारी दिए । बुधबार आयोगमा निवेदन दर्ता गर्न नेताहरू सुरेन्द्र पाण्डे, लीलामणि पोखरेल, मुक्ति प्रधानलगायत गएका थिए । निवेदन दर्ता गरेपछि नेता पाण्डेले नेकपाको हाल बहाल रहेका ४३७ जना केन्द्रीय सदस्यमध्ये बहुमतभन्दा बढी केन्द्रीय सदस्यको हस्ताक्षर आयोगलाई बुझाएको दाबी गरे ।
पार्टी एकता हुँदा ४४१ रहेकामा चार जना थपेर ४४५ पुर्याइएकोमा तीन जनाको निधन भएको, पाँच जनाले संवैधानिक नियुक्ति पाएको तथा डा युवराज खतिवडासहित तीन जना राजदूत भएकाले हाल नेकपाको केन्द्रीय कमिटीको कुल सङ्ख्या ४३७ सदस्यीय रहेको भनाइ पाण्डेको छ ।
नेता पाण्डेले भने, ‘पार्टीको बहुमत सदस्यले गर्ने निर्णय नै अन्तिम हुने पार्टीको विधानको व्यवस्था छ । आजसम्म भएका सबै नजिरले चुनाव चिह्न हाम्रो पक्षमा हुन्छ ।’ नेता पाण्डेले मङ्गलबार बालुवाटारमा ११३ जना केन्द्रीय सदस्य मात्रै भेला भएको दाबी गरे । उनले सबै नजिरले नेकपाको सूर्य चिह्न आफ्नो हुने पनि जिकिर गरे ।
प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले मङ्गलबार केन्द्रीय कमिटी सदस्य विस्तार गर्दै एक हजार १९९ सदस्यीय बनाउने निर्णय गरेको थियो । अध्यक्ष ओलीले ५५६ जना केन्द्रीय सदस्य थप गर्ने निर्णय गर्नुका साथै सोही विवरण आयोगलाई बुझाइएको थियो । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।