इलाम । नगदेबालीमा पर्ने अकबरे खुर्सानी पछिल्लो समय यहाँका किसानका लागि अर्थोपार्जन गर्ने प्रमुख बाली बनेको छ । छोटो समयमै उल्लेखनीय आम्दानी लिन सकिने भएकाले किसानले अकबरेलाई व्यावसायिक गर्दै लगेका हुन् ।
अन्तरराष्ट्रिय बजारबाट समेत अकबरेको माग आउन थालेपछि किसानले अन्य बाली मासेर पनि अकबरे लगाएका छन् । एउटै बालीबाट लाखभन्दा बढी आम्दानी लिन सकिन्छ । सहजरूपमा खेती सकिने र कम मिहिनेत पर्नाले पनि किसान उत्प्रेरित बनेका हुन् । गएको वर्ष अकबरेबाट उल्लेखीय आम्दानी लिएको भए पनि यस वर्ष रोगले सखाप पारेको इलाम नगरपालिकाका किसान डिल्ली चापागाईं बताउँछन्।
गएको वर्ष अकबरेबाट डेढ लाख रुपैयाँ कमाइ भएकोमा यस वर्ष ५० हजार रुपैयाँ मात्र हुने चापागाईंको अनुमान छ । “डाँठ कालो भएर कुहिने रोगले सबै सखाप पारेको छ”, चापागाईंले भने, “बढी पानी र हुस्सु परेकाले होला उत्पादन ह्वात्तै घटेको छ ।” गएको वर्ष १ हजार बिरुवा लगाएकोमा करीब डेढर दुई सय बिरुवाले मात्र उत्पादन दिंदै गरेको चापागाईंको भनाइ छ । समयमा रोगको औषधि हाल्न सक्दा अकबरेबाट प्रशस्त आम्दानी लिन सकिने चापागाईंको अनुभव छ ।
अकबरेको माग गर्मी मौसममा भन्दा चिसोमा बढी हुन्छ । यो पुस र माघमा अकबरेका माग उच्च हुन्छ । किसानले पनि यही मौसममा अकबरेबाट प्रशस्त आम्दानी लिनुपर्ने हुन्छ । पछिल्लो समय विदेशबाट पनि अकबरेको माग आएकाले अकबरे नबिक्ला भनेर डराउनु पर्दैन ।
यो वर्ष किसानको घरघरबाटै ४८० देखि ५००रुपैयाँ प्रतिकिलोका दरले अकबरे विक्री भइरहेको छ । सूर्योदय नगरपालिका–१२ आठघरेका किसान मदन राईले यो वर्ष प्रतिकिलो ६०० रुपैयाँ का दरले पनि अकबरे विक्री गरेका छन् । विगत सात वर्षयता अकबरेको व्यावसायिक खेती गरिरहेका राईले उत्पादन गरेको अकबरेको माग त स्थानीय बजारदेखि विदेशमा समेत रहेको छ ।
राईले यो वर्ष २०० किलो अकबरे हङकङ पठाएको जानकारी दिए । भारत, अमेरिका, साउदी, कतार, मलेशिया र हङकङमा बसोबास गर्ने नेपालीले इलामको अकबरे माग गर्ने गरेका छन् । उनीसँग दानाअर्थात् अकबरेको बीउको माग पनि उत्तिकै छ ।
गत वर्ष २५ हजार रुपैयाँ प्रतिकिलोका दरले सात किलो दाना बियाँ उत्पादन गरेका उनले यो वर्ष बीउको तयारी गरिरहेको बताए। राईले आफ्नो खेतीमा विशेष गरी गाईको गोबरमल, गहुँत, निमको पिना, हड्डीको धुलो र आफैंले उत्पादन गरेको गड्यौले मल प्रयोग गरिरहेका छन् । दहीबाट घ्यू निकालेर बनाइएको मोहीलाई पनि निश्चित पद्धतिमा ढालेर रोगबाट बालीनाली बचाउन प्रयोग गर्नेगरेको राई बताउँछन् ।
अकबरेमा रोगको सङ्क्रमण
प्राविधिकका अनुसार अहिले अकबरेमा ब्याक्टेरियल बिल, ड्यापिङ अफ र मोटल भाइरस नामक रोगले सखाप बनाएको छ । ब्याक्टेरियन बिल रोग अन्य रोगभन्दा विषालु रोग हो । अकबरे ओइलाउँदै जाने र डाँठ कालो हुने यसको लक्षण हो ।
यसबाट अकबरे बचाउनका लागि माटो परीक्षण गर्नुपर्ने, प्राङ्गरिक तरिकाले खेती गर्नुपर्ने र एउटै ठाउँमा वार्षिकरूपमा फरक–फरक खेती लगाइरहनुपर्ने हुन्छ । कृषि ज्ञान केन्द्र इलामका कृषि प्रसार अधिकृत रोजन खड्काका अनुसार यो रोग बीउ र मोटो दुवैबाट लाग्न सक्छ । अकबरे रोप्नुपूर्व कीटाणु नष्ट गर्ने औषधिमा लगाउँदा पनि रोग जान्छ भने रोपेपछि बारीमा उम्रिएको झार फ्याक्दा पनि नियन्त्रण हुन सक्छ ।
यस्तै अर्को अकबरेमै देखिने रोग ९ड्यापिङ अप० पनि बिरुवाको डाँठमै पहिले देखिने गर्छ । यो रोगले भने बिरुवाको फेद र डाँठ सुकेर जाने गर्छ ।
अकबरे फल दिने समयमा छिर्के हुने, पहेंलो रङको देखिने लक्षण देखिने कृषि विशेषज्ञ योगेन्द्रमान श्रेष्ठको भनाइ छ । यो रोगबाट अकबरे बचाउन गाईको दूधमा९आधा लिटर० मा पानी ९चार लिटर० हालेर बिरुवामा हाल्दा नियन्त्रण हुने विशेषज्ञ श्रेष्ठको भनाइ छ ।
जिल्लाका पञ्चकन्या, सोयाङ, नामसालिङ, सुम्बेक, सुलुबुङ, माइमझुवा, गोदक, कन्याम, लक्ष्मीपुरलगायतका गाउँका किसानले अकबरेको व्यावसायिक खेती गर्दै आएका छन् । जिल्लाको १५५ हेक्टर क्षेत्रफलमा अकबरे खेती हुँदै आएको कृषि ज्ञान केन्द्र इलामले बताएको छ । रासस