Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

सगरमाथाको नयाँ उचाइ मंगलबार सार्वजनिक हुने

सगरमाथाको नयाँ उचाइ मंगलबार सार्वजनिक हुने

दैनिकी न्यूज

२२, मंसिर २०७७
सगरमाथाको नयाँ उचाइ मंगलबार सार्वजनिक हुने
images

काठमाडौं । आगामि मंगलबार नेपाल र चीन दुवैले एकैपटक सगरमाथाको उचाइ सम्बन्धी प्रतिबेदन सार्वजनिक गर्ने भएका छन् । भूमि व्यवस्था मन्त्रालयका अनुसार मंगलबार नेपाल र चीन दुबै देशले एकै पटक सार्वजनिक गर्न नेपाल सरकारले चीन सरकारसँग प्रस्ताव गरेको छ । यसमा चिनियाँ पक्षले सहमति जनाएको मन्त्रालयले जनाएको हो ।

स्रोतका अनुसार दुवै देशका परराष्ट्रमन्त्रीहरुले संयुक्त रुपमा भर्चुअल बैठकबाट उचाइ सार्वजनिक गर्ने भएका छन् । दुवै देशले छुट्टाछुट्टै साधन र स्रोत प्रयोग सगरमाथाको उचाइ मापन पूरा गरेका छन् । करिब २ वर्षअघि विभागले सगरमाथाको मापन गर्न सुरु गरेको हो । यसका लागि सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो । सचिवालयले गत असारमै रिपोर्ट तयार गरेको थियो ।

सगरमाथा मापन टोलीले ग्लोबल न्याभिकेसन स्याटलाइट सिस्टम ९जिएनएसएस० प्रविधिबाट सगरमाथा मापन गरेको हो । यो प्रविधि सबैभन्दा अत्याधुनिक मानिन्छ । सगरमाथाको मापन गर्न नापीका दुईजना कर्मचारी खिमलाल गौतम र रवीन कार्की मेसिन बोकेर मे २३, २०१९ मा सगरमाथाको चुचुरोसम्मै पुगेका थिए । उनीहरू चुचुरोमा १ घण्टा १६ मिनेट बसेका थिए । २०७५ चैत २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीनिवास बालुबटारबाट सगमारथा मापनमा जाने टोलीलाई विदा गरेका थिए ।

४ जनाको टोलीमध्ये गौतम र कार्की चुचुरामै पुगेका थिए भने सुरजसिंह भण्डारी र युवराज धिताल आधार शिविरसम्म पुगेका थिए । सगरमाथाको उचाइ मापनपछि करिब ६ महिनासम्म विभागका कर्मचारीहरुले डाटा प्रोेसेसिङ गरेका थिए ।

नेपालले पहिलोपटक आफ्नै स्रोत, साधन र प्रविधिबाट सगरमाथाको उचाइ मापन गरेको नापी विभागले जनाएको छ । उचाइ मापन गर्दा अत्याधुनिक प्रविधि मात्र नभई परम्परागत प्रविधि पनि प्रयोग गरिएको विभागका एक कर्मचारीले बताए । (नागरिक दैनिकबाट)

 

images
प्रकाशित मिति :मंसिर २२, २०७७ सोमवार - ०४:३१:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology