Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

घट्यो सिमेन्टको मूल्य, फलाम आयात आधा

घट्यो सिमेन्टको मूल्य, फलाम आयात आधा

दैनिकी न्यूज

१४, मंसिर २०७७
घट्यो सिमेन्टको मूल्य, फलाम आयात आधा
images

वीरगञ्ज । कोरोना महामारी र नियन्त्रणका लागि लगाइएको बन्दाबन्दीका कारण खस्किएको निर्माण सामग्रीको बजार अझै उँभो लाग्न सकेको छैन । बन्दाबन्दी हटे पनि विकास निर्माणका कामले अझै स्वाभाविक गति नलिएकाले सिमेन्ट, डन्डीलगायत उत्पादनको मागमा सुधार नआएको उत्पादकहरूले बताएका छन् ।

निर्माण सामग्री उत्पादनमा पछिल्लो समय ठूलो लगानी आएपछि आन्तरिक बजारमा प्रतिस्पर्धा तीव्र बढेको छ । उत्पादनको तुलनामा बजार नबढेपछि उत्पादकबीच मूल्यमा मात्र नभएर कसले बढी समयका लागि उधारो दिने भन्ने प्रतिस्पर्धा चलेको थियो ।

मागको तुलनामा अधिक उत्पादनले बजार समस्याग्रस्त बनिरहेका बेला कोरोना महामारीले झन् समस्या थपिएको उत्पादकहरू बताउँछन् । अहिले उद्योगहरू पूर्ण क्षमतामा चल्ने हो भने मागको तुलनामा सिमेन्ट ३ गुणा र डन्डी दोब्बर उत्पादन हुने लगानीकर्ता बताउँछन् ।

बन्दाबन्दी खुलेयता अन्य उत्पादनको बजारले गति समाते पनि निर्माण सामग्रीको माग नबढेको उनीहरूको भनाइ छ । उत्पादकहरूले दैनिक खर्च चलाउन पनि लागतभन्दा कम मूल्यमा उत्पादन बेच्न थालेका छन् । यो अवस्थामा चाँडै सुधार नआए निर्माण सामग्री उत्पादनमा भएको लगानी संकटमा पर्ने उद्योगी प्रदीपकुमार केडिया बताउँछन् । सरकारी लगानीका ठूला विकास आयोजनालाई गति दिएर बजार बढाउनुपर्ने माग केडियाको छ ।

घट्यो सिमेन्टको मूल्य
केही महीनायता सिमेन्टको मूल्य निरन्तर ओरालो लागेको छ । सिमेन्टको बजारमा उच्च प्रतिस्पर्धा भइरहेका बेला कारोना महामारीले अर्को समस्या थपेको नारायणी सिमेन्ट उद्योगका महाप्रबन्धक उमेशचन्द्र ठाकुरले बताए । ‘बजारमा मागभन्दा अधिक आपूर्तिका कारण सिमेन्टको बजार यसै पनि शिथिल थियो । त्यहीँमाथि कोरोना महामारीले मन्दी थप्यो,’ ठाकुरले भने, ‘बन्दाबन्दी खुले पनि निर्माणका कामले गति नसमातेकाले बजार खुम्चिएको छ ।’

बजारमा माग नभएपछि उत्पादकले सिमेन्ट सस्तोमा बेच्न थालेका छन् । बन्दाबन्दीयता क्लिंकर र तयारी सिमेन्टको भाउ घटेको उत्पादकहरू बताउँछन् । क्लिंकरको मूल्यमा ३५ प्रतिशतसम्म कमी आएको उत्पादकले जानकारी दिए । तयारी सिमेन्टको मोल २० देखि २५ प्रतिशतसम्म खस्किएको छ ।

कोरोना महामारी शुरू हुनुअघि प्रति मेटिकटन ९मेट० १० हजार रुपैयाँमा विक्री हुने क्लिंकर अहिले ६ हजार ५ सय रुपैयाँमा विक्री भइरहेको उद्यमी बताउँछन् । बन्दाबन्दीअघि प्रतिबोरा ८५० पर्ने अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट ९ओपीसी०को मूल्य अहिले ६७० रुपैयाँमा झरेको ठाकुरले बताए ।

पोर्टल्यान्ड पोजोलना सिमेन्ट ९पीपीसी०को पनि मोल घटेको छ । बोराको ८ सय रुपैयाँसम्म पर्ने यो सिमेन्ट अहिले ५७० रुपैयाँमा विक्री भइरहेको उत्पादकहरू बताउँछन् ।

स्वदेशमै भाउ सस्तिएपछि क्लिंकरको आयात करीब बन्दजस्तै भएको छ । अघिल्लो वर्षसम्म मुख्य आयातित वस्तुमा पर्ने सिमेन्ट अहिले यो सूचीबाट हटिसकेको वीरगञ्ज भन्सारका अधिकृत रमेश सुकमनीले जानकारी दिए ।

फलाम आयात आधा
बजारबाट अपेक्षित माग नआएपछि डन्डी उद्योगले कच्चा पदार्थको आयात पनि घटाएका छन् । स्वदेशी बजारमा मागमा मन्दी आएकै बेला भारतमा फलामको भाउ बढेपछि उत्पादकले फलाम भित्र्याएका छैनन् । यहाँका उद्योगले अधिकांश कच्चा पदार्थ भारतबाट भित्र्याउँछन् ।

बन्दाबन्दी खुलेलगत्तै चाडपर्व शुरू भएकाले बजार नबढेको अनुमान उद्यमी राजेश क्यालको छ । भर्खरै दशैंतिहार र छठजस्ता चाडपर्व सकिएकाले अब निर्माण सामग्रीको बजार बढ्ने उद्योगी क्यालको अपेक्षा छ । बजार बढेसँगै फलामको आयात पनि बढ्ने उनले बताए ।

वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७र७८ को पहिलो चौमासमा फलाम आयात करीब आधामा झरेको छ । यो वर्षको साउनदेखि कात्तिकसम्मको अवधिमा बन्दरगाहबाट १ लाख ८५ हजार मेट फलाम भित्रिएको छ ।

आर्थिक वर्ष २०७६–७७ को समीक्षा अवधिमा यो परिमाण ३ लाख ५९ हजार मेट थियो । वीरगञ्ज भन्सारबाट पनि फलामको आयात घटेको तथ्यांकले देखाउँछ । अघिल्लो वर्ष पहिलो ४ महीनामा ४८ हजार मेट एमएस बिलेट आएकोमा यो वर्षको त्यही अवधिमा ३४ हजार मेटमात्र भित्रिएको छ । आजको आर्थिक अभियान दैनिकबाट

images
प्रकाशित मिति :मंसिर १४, २०७७ आइतवार - ०७:४१:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology