काठमाडौं । सवारी चालकहरूले शाखा सडकबाट मूल सडकमा सहजै निस्कने ट्राफिक नियम ‘रोक, हेर र जाउँ’ लाई पालना गराउन आजदेखि ट्राफिक प्रहरी खटिएका छन् ।
सवारी चलाउँदा विशेष गरी ट्राफिक संकेत, अपनाउनु पर्ने सावधानी जस्ता नियमहरुको पालना गर्नुपर्ने भए तापनि कतिपय सवारी चालकहरुले त्यसो गरेका छैनन् ।
महानगरीय ट्राफिक संकेत बोर्डहरुको पालना गराउन ३८० वटा शाखा सडकमा ३८० जना ट्राफिक प्रहरी खटाएको छ ।
“सवारी चालकले भित्रि सडकबाट मुख्य सडकमा निस्कँदा पर्ख, हेर र जाउँ भन्ने ट्राफिक नियम कतिपय चालकले पालना नगरेको कारण पालना गराउन तथा सिकाउन आजदेखि त्यस्ता चोक जक्सनमा ३८० जना ट्राफिक प्रहरी खटाइएको हो ।”
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले उपत्यकाको ट्राफिक चाप व्यवस्थित गर्न तथा चोक जक्सनमा हुने सवारी दुर्घटना न्यूनीकरण गरी सहज र सुरक्षित यात्रा गराउनका लागि त्यस्ता ट्राफिक संकेत बोर्डहरू निर्माण गरी राखिएको बताए ।
उक्त नियम सवारी चालकहरूलाई पालना गराउन र सिकाउन पिकआवरको समयमा ३र३ घण्टा ट्राफिक प्रहरी खटिने छन् । आज बिहानको समयमा मात्रै तीन हजार पाँच सयको हाराहारीमा चालकहरुलाई उक्त संकेत बोर्डको महत्व तथा फाइदाको बारेमा सम्झाई बुझाई गरी पालना गर्नसमेत सुझाएको छ ।
यस्ता बोर्डहरू काठमाडौ उपत्यकाको मूल सडकमा निस्कने शाखा वा भित्री सडकको मुखैमा राखिएको महाशाखाले जनाएको छ ।
भित्री वा शाखा सडकबाट मूल सडकमा निस्कने सवारी चालकहरूले स्व–अनुशासित भई उक्त (रोक, हेर र जाउँ) को नियम पालना गरी जाम तथा दुर्घटना रहित सहज यात्रा गरि सभ्य सडक संस्कृतिको विकास गरी दिन सवारी चाललाई प्रहरीले अनुरोध समेत गरेको छ ।