Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने पक्राउ

नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने पक्राउ

दैनिकी न्यूज

१९, कार्तिक २०७७
नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने पक्राउ
images

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले बहुमूल्य नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ ।

घोराही उपमहानगरपालिका–१७ दाङ निवासी माधवप्रसाद घिमिरेलाई बहुमूल्य नागमणि राख्दा व्यापार व्यसाय राम्रो हुने, परिवारका सदस्यको आयु लामो हुने भनी ललाइफकाई प्रलोभनमा पारी रु एक करोड ८९ लाख ५० हजार ठगी गरेको अभियोगमा नौमुले गाउँपालिका–४ दैलेख निवासी धनबहादुर रोका, कुमाख गाउँपालिका–५ सल्यान निवासी कृष्ण शाह र शारदा नगरपालिका–९ सल्यान निवासी डिल्लीबहादुर बोहरालाई पक्राउ गरेको प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।


उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१ बाट उनीहरुलाई रु ४० लाखसहित पक्राउ गरिएको हो । आइतबार पक्राउ गरिए पनि उनीहरुलाई मङ्गलबार पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको थियो ।

पत्रकार सम्मेलनमा पछिल्लो तीन दिनयता विभिन्न अभियोगमा पक्राउ परेका १२ अभियुक्त र उनीहरुको साथबाट बरामद गरिएको सामग्रीको विवरण सार्वजनिक गरिएको थियो ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक रानाले अवैध ठगीधन्दा, रेड पाण्डाको छाला तथा अवैध लागुपदार्थ कारोवारमा संलग्न व्यक्ति तथा बरामद गरिएका अवैध सामग्रीको विवरण सार्वजनिक गर्दै आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

प्रहरीले आइतबार बाँके र दाङको सिमाना शिवखोलाबाट तीन किलो लागुऔषध अफिमसहित पक्राउ परेका पश्चिमरुकुम सानीभेरी गाउँपालिका–८ निवासी २७ वर्षीय चन्द्रप्रकाश वली, दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित मङ्गलबार कोहलपुरबाट पक्राउ परेका बराहताल गाउँपालिका–५ निवासी गणेश नेपाली, लालबहादुर नेपाली, चामुण्डाबिन्द्रा नगरपालिका–५ दैलेख निवासी दिनेश कार्की र उमेशबहादुर थापालाई पनि सार्वजनिक गरेको छ ।

यसैगरी मङ्गलबार दिउँसो २० पुरिया ब्राउन सुगरसहित पक्राउ परेका भारतको बहराइच रुपैडिहा थाना निवासी १८ वर्षीय जुगिन्दर सोनी, सोही ठाउँ निवासी २९ वर्षीय राकेश सोनी, बाँकेको खजुरा गाउँपालिका–१ निवासी १९ वर्षीय विष्णु थापा क्षेत्री र नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोल निवासी २५ वर्षीय सागर थापालाई पनि प्रहरीले बरामद गरेको सामग्रीसहित सार्वजनिक गरेको छ । रासस

images
प्रकाशित मिति :कार्तिक १९, २०७७ बुधवार - ०९:३७:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology