Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

कक्षा १२ को अन्तिम परीक्षाः पुरानै मोडलमा प्रश्न बनाउने तयारी

कक्षा १२ को अन्तिम परीक्षाः पुरानै मोडलमा प्रश्न बनाउने तयारी

दैनिकी न्यूज

१९, कार्तिक २०७७
कक्षा १२ को अन्तिम परीक्षाः पुरानै मोडलमा प्रश्न बनाउने तयारी
images

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले पूर्णरुपमा इन्टरनेट सेवा चालू नभएको र समस्या देखिने जिल्लामा छपाइ गरेको प्रश्नपत्र पठाउने तयारी गरेको छ ।

स्थगित भएको सात महिनापछि यही मंसिर ९ गतेबाट गर्न लागेको परीक्षामा कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली र केही पहाडी जिल्लामा छपाइ गरिएको प्रश्नपत्र पठाउने तयारी गरेको छ ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले करिब २५ जिल्लाका केन्द्रमा छपाइ गरिएको प्रश्नपत्र पठाउने तयारी भइरहेको बताउनुभयो । कुन कुन केन्द्रमा पठाउने भन्ने विषयमा बोर्डको प्रदेश परीक्षा कार्यालले निर्णय गर्नेछ ।

बोर्डले जुम्ला, हुम्ला, कालीकोट, मुगु, मनाङ, मुस्ताङ, डोल्पा, बाजुरा, जाजरकोट, बझाङालगायतका जिल्लामा छपाइ गरी प्रश्नपत्र पठाउने तयारी गरेको छ । अन्य जिल्लाका परीक्षा हुनु कोही समयअघि इमेलमार्फत प्रश्नपत्र पठाउने तयारी गरेको छ ।

परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म डेढ घण्टाको हुनेछ । सो परीक्षा १६ गते सकिनेछ । बोर्डले तयार गरेको कार्यविधिमा परीक्षाको उत्तरपुस्तिका सम्बन्धित विषय शिक्षकले परीक्षण गरी नम्बर पठाउने व्यवस्था गरेको छ । बोर्डले सबै प्रदेश कार्यालयमा उत्तरपुस्तिका पठाइसकेको जनाएको छ । ‘अब परीक्षा केन्द्रमा पठाउने काम प्रदेश कार्यालयको हो।’ –बोर्डका अध्यक्ष पौडेलले भन्नुभयो ।

परीक्षामा कोरोना संक्रमण देखिएका विद्यार्थीलाई छुट्टै कोठाबाट परीक्षा दिने व्यवस्था गरिएको बोर्डले जनाएको छ । बोर्डले जारी गरेको सूचनामा ‘कोभिड–१९ संक्रमित भई उपचाररत परीक्षार्थीहरु परीक्षामा सहभागी हुन अनुरोध गरिन्छ’ उल्लेख छ ।

परीक्षामा सहभागी सबै विद्यार्थीले अनिवार्यरुपमा मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्ने, सबै केन्द्रमा अनिवार्यरुपमा हेल्थ डेक्स राखिनुपर्ने, केन्द्रमा प्रवेश गर्नुअघि अनिवार्यरुपमा थर्मल गनले तापक्रम परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ ।

बोर्डका अध्यक्ष प्राडा पौडेलले हरेक केन्द्रमा स्थानीय तहको समन्वयमा हेल्थ डेक्ससहित स्वास्थ्य सामग्री राख्नुपर्ने बताउनभुयो । बोर्डले हिजो मंगलबार तीनै सुरक्षा निकायका उच्च अधिकारीसँग बैठक गरेको थियो । तीनै सुरक्षा निकायका अधिकारीले परीक्षामा पूर्ण सुरक्षा प्रत्याभूति दिने बताएका थिए ।

योे वर्ष ४० प्रतिशतका लागि मात्रै परीक्षा गर्न लागिएको हो । बाँकी ६० प्रतिशतमध्ये ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने गरी बोर्डले कार्यविधि निर्माण गरेको छ । परीक्षाको प्रश्नपत्र पुरानै ढाँचामा तयार गरिने जनाएको छ ।

कक्षा ११ को वार्षिक वा ग्रेड वृद्धि परीक्षामा सैद्धान्तिकतर्फ प्राप्त विषयगत प्राप्तांकलाई शतप्रतिशत मानी ४० प्रतिशत अंकभार कक्षा १२ को मूल्यांकनमा जोडिने व्यवस्था गरेको छ ।

आन्तरिक मूल्यांकनको अंकभार सैद्धान्तिकतर्फको कुल पूर्णाङ्कलाई शतप्रतिशत मानी २० प्रतिशत हुने कार्यविधिमा तयार गरिसकेको छ ।

परीक्षामा करिब ४ लाख २६ हजार विद्यार्थी सहभागी हुनेछन् । ४ हजार १ सय ५ विद्यालयमा परीक्षा हुने बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

images
प्रकाशित मिति :कार्तिक १९, २०७७ बुधवार - ०८:०५:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology