बारा । बाराको सुवर्ण गाउँपालिका वडा नं. २ कवही गोठ बजारमा पर्ने ईलाका प्रहरी कार्यालयअगाडि प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक बालक गम्भीर घाइते भएका छन् ।
राति साढे ८ बजेतिर भारतबाट ल्याइँदै गरिएको आलु र प्याज प्रहरीले नियन्त्रणमा लिएर कलैयातर्फ लैजाने क्रममा स्थानीयले रोक्न खोज्दा भएको झडपमा गोली लागेर सुवर्ण गाउँपालिका वडा नं. २ कै १४ वर्षीय रन्जनकुमार यादव घाइते भएका हुन् । उनको टाउकोमा गोली लागेको छ ।
बालकको स्थानीय एसआर अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि वीरगन्जको बयोधा अस्पताल रिफर गरिएको अस्पतालका चिकित्सक जितेन्द्र यादवले बताए ।
झडप नियन्त्रणमा लिन प्रहरीले दर्जनभन्दा बढी हवाई फायर गरेको थियो । स्थानीय शिक्षक एकवाली यादवका अनुसार किसानले भारतबाट आलुको बीउ ल्याइरहँदा प्रहरीले नियन्त्रणमा लिएर सदरमुकाम पठाउन खोज्दा स्थानीयले अवरोध गरेपछि घटना भएको बताए । प्रहरीले भने घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेको छैन् ।