झापा । अदालतबाट दुई महीना कैद र रू. १ करोड १५ लाख जरिवाना ठहर भएका एक फरार अभियुक्त एक वर्षपछि मंगलवार पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बैङ्किङ कसुरसम्बन्धी अभियोगमा गत पुस १४ मा उच्च अदालत, विराटनगरको इजलासले कनकाइ नगरपालिका ३ निवासी ५५ वर्षीय राजेन्द्रप्रसाद प्रसाईंलाई एक महीना कैद र रू. २५ लाख बिगोसहित दुवै सजाय तोकेको थियो ।
प्रसाईंकै नाममा सुरेन्द्रकुमार उप्रेतीले दिएको जाहेरीका आधारमा सोही मुद्दामा सो अदालतले विसं २०७६ पुस २१ गते एक महीना कैद र रू। ९० लाख बिगोसहित दुवै सजाय फैसला गरेको थियो । प्रवक्ता थापाले कार्यालय खुलेपछि प्रतिवादीलाई अदालतमा उपस्थित गराइ थप कानूनी कारबाही अघि बढाइने बताए ।
झापा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले अभियुक्तलाई निजकै गाउँबाट पक्राउ गरेको हो । रासस