Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

मध्यपहाडी राजमार्गका अधिकांश स्थानमा हुन सकेन निर्माण

मध्यपहाडी राजमार्गका अधिकांश स्थानमा हुन सकेन निर्माण

दैनिकी न्यूज

३, कार्तिक २०७७
मध्यपहाडी राजमार्गका अधिकांश स्थानमा हुन सकेन निर्माण
images

काठमाडौं । राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गको अधिकांश स्थानमा निर्माणको कम हुन सकेको छैन । कोभिड–१९ सङ्क्रमण फैलिरहँदा पालिकाले आफ्नो क्षेत्र बाहिरका व्यक्तिलाई प्रवेशमा गरेको कडाइका कारण अपेक्षाकृतरुपमा काम हुन नसकेको हो ।

यो आवको पहिलो तीन महिनामा भौतिक प्रगति न्यून मात्रै रहेको मध्यपहाडी सडक आयोजना निर्देशनालयका प्रमुख दीपक केसीले बताए । उनका अनुसार पहिलो चौमासिकमा ५० किमी कालोपत्र गर्ने लक्ष्य लिएकोमा अहिलेसम्म झण्डै दुई किमी मात्रै सडक कालोपत्र भएको छ । अबको एक महिना दशैँ, तिहार, छठलगायत चाडपर्व भएकाले निर्माण गर्न अझै कठिन हुने उनले बताए ।

उनले भने, “पहिलो चौमासिकमा अपेक्षा गरेभन्दा धेरै कम मात्रै काम भएको छ ।” एकातिर कामदार आफैँ पनि घर बाहिर जान त्रसित भएको र अर्कातिर सम्बन्धित पालिकाले आवतजावतमा कडाइ गरेकाले अधिकांश स्थानमा निर्माण अघि बढाउन नसकिएको प्रमुख केसीले बताए । अहिले पनि धेरै पालिकाले नयाँ मान्छे आउनै नदिने वा आइहालेमा दुई साता क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरेको छ । उनले भने, “मजदूर आफैँ पनि सकेसम्म घरपरिवार छाडेर काम गर्न चाहेका छैनन् ।”

आयोजनामा गत वर्ष कोभिड–१९ का कारण लक्ष्यभन्दा एक तिहाइ मात्रै कालोपत्र भएको थियो । तीन सय किमी कालोपत्रको लक्ष्य लिइएकामा ११३ किमी सडकमा कालोपत्र भएको थियो । गत वर्ष कालोपत्र गर्ने लक्ष्य लिएकोमा सडकमा आवश्यक सबै तयारी भइसकेकाले अहिले सहज अवस्था हुनासाथ कामले गति लिने पनि प्रमुख केसीले बताए । पहाडी क्षेत्रलाई पूर्वदेखि पश्चिमसम्म जोड्ने सो आयोजना आगामी आव २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य लिएको आयोजनाले जनाएको छ ।रासस 

images
प्रकाशित मिति :कार्तिक ३, २०७७ सोमवार - १४:००:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology