Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

पानीको मूल्यमा मनपरी

पानीको मूल्यमा मनपरी

दैनिकी न्यूज

२४, आश्विन २०७७
पानीको मूल्यमा मनपरी
images

काठमाडौं । खानेपानी उद्योग तथा व्यापारीले पछिल्लो समय जार र बोतलको पानीको मूल्य आफूखुसी बढाएर बिक्री गर्न थालेका छन् ।

पानी उद्योगले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुमति लिएर वाणिज्यले तोकेको अधिकतम बिक्री मूल्य ९एमआरपी० का आधारमा मूल्य बढाएको दाबी गरेका छन् ।
तर वाणिज्य विभागले भने पानीको एमआरपी तोके पनि त्यो कार्यान्वयन गर्ने विषयमा टुङ्गो नलागेको जनाएको छ ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले एमआरपी कार्यान्वयनको विषयमा विभागले कुनै पनि उद्योगीलाई स्वीकृति नदिएको र आफूखुसी मूल्य बढाउने उद्योगीलाई कारबाही हुने बताए । उनले भने, ‘व्यापारीले आफूखुसी मूल्य बढाएको भन्ने गुनासो विभागमा पनि आउन थालेको छ । आफूखुसी मूल्य बढाउने व्यापारीलाई विभागले अनुगमन गरेर कारबाही गर्छ ।’

विभागका अनुसार पछिल्ला दिनमा जारको पानीमा गुणस्तर सुधार गर्नुपर्ने, महँगो मूल्यमा बेच्ने गरेको, पानीमा कीरा, लेउ भेटिने गरेको, जारको बिर्कोबाट पानी चुहिने र फोहोर जारमा पानी बेच्ने गरेकोलगायतका गुनासा आउन थालेका छन् । विभागले गत साउन र भदौमा पिउने पानीका उद्योगमा अनुगमनलाई तीव्र बनाएको थियो । त्यसबेला करिब चार दर्जन पानी उद्योग कारबाहीमा पनि परेका थिए तर पछिल्लो समय विभागको अनुगमन अरू क्षेत्रमा केन्द्रित भएपछि फेरि पानीमा उपभोक्ता ठगिएको गुनासो आउन थालेको विभागले जनाएको छ ।

विभागका महानिर्देशक सुवेदीका अनुसार पिउने पानीको मूल्य र गुणस्तर दुवैमा उपभोक्ताले गुनासो गर्ने गरेका छन् । पानीमा ठगिएका गुनासो पछिल्लो समय बढेका छन् । यस्ता गुनासो मूल्य र गुणस्तरसँगै छन् । हामी चाँडै अनुगमन सुरु गर्छौं, उनले भने, ‘विभागले पानी उद्योग र वितरकसँग सम्बन्धित सूचना सङ्कलन गरिरहेको र अब केही दिनभित्रै स्ट्रिङ अपरेसनमा जानेछ ।’ उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

images
प्रकाशित मिति :आश्विन २४, २०७७ शनिवार - ०६:५८:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology