Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

जलविद्युत लगानी गर्ने अष्ट्रेलियन कम्पनीको प्रस्ताव

जलविद्युत लगानी गर्ने अष्ट्रेलियन कम्पनीको प्रस्ताव

दैनिकी न्यूज

१७, आश्विन २०७७
जलविद्युत लगानी गर्ने अष्ट्रेलियन कम्पनीको प्रस्ताव
images

काठमाडौं । अष्ट्रेलियाको एक कम्पनीले नेपालमा ५०० मेगावाटभन्दा ठूलो जलविद्युत् आयोजना निर्माण गर्ने इच्छा देखाएको छ । त्यहाँको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले कम्तीमा ५०० मेगावाट क्षमताको विद्युत् उत्पादन गरी खपतसमेत आफैं गर्ने प्रस्ताव ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय समक्ष पेस गरेको हो । सो सम्बन्धमा ऊर्जा मन्त्रालय र उक्त कम्पनीका प्रतिनिधिबीच श्रव्य दृश्य माध्यमबाट द्विपक्षीय छलफल समेत भइसकेको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँग उनको कार्यकक्षमा विदाई भेटका लागि पुग्नु भएका नेपालका लागि अष्ट्रलियाका राजदूत पिटर बडलाई नेपाल सरकारले सो प्रस्तावलाई सकारात्मक रुपमा लिएको बताएका थिए । अष्ट्रेलियन कम्पनीले नेपालमा ठूलो लगानी ल्याउन खोजेकामा स्वागत गर्दै मन्त्री पुनले त्यसका लागि सरकारका तर्फबाट सहजीकरण गरिने स्पष्ट पारे ।

कम्पनीका अध्यक्ष एन्ड्रीउ फरेस्ट नेतृत्वको २३ सदस्यीय टोली यही असोज २६ गते नेपाल आउन लागेको जानकारी प्राप्त भएको भन्दै मन्त्री पुनले सो टोलीसँगको भेटमा आयोजना विकासका सम्बन्धमा नीतिगत, कानूनी र प्रक्रियागत तथा सम्भावित आयोजनाका विषयमा जानकारी दिने उल्लेख गरे । फोर्टेस्क्यू मेटल ग्रुप अष्ट्रेलियाको १० ठूला कम्पनीमध्ये एक हो ।

“नेपालको जलविद्युत् क्षेत्रमा यति ठूलो लगानी आउने र उत्पादित बिजुलीको खपत पनि आफैं गर्ने कम्पनीको प्रस्ताव हामीलाई राम्रो लागेको छ”, मन्त्री पुनले भने, “उनहरु आउनु भएपछि हामी विभिन्न आयोजनाबारे अवगत गराउँछौं र उपयुक्त आयोजना निर्माणका लागि आवश्यक कानूनी, नीतिगत र प्रक्रियागत विषयमा सम्झौता गर्छौं ।”

मन्त्री पुनले अष्ट्रेलिया नेपालको असल र महत्वपूर्ण मित्र भएको चर्चा गर्दै नेपालको समग्र विकास तथा जलविद्युत् क्षेत्रको विकासमा पु¥याउँदै आएको सहयोगका लागि आभार प्रकट गर्दै आगामी दिनमा समेत सहयोग जारी रहने विश्वास व्यक्त गर्नुभएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

अष्ट्रेलियाले नेपालमा पछिल्लो पटक एकीकृत नदी बेसिन व्यवस्थापन र फुकोट कर्णाली जलविद्युत् आयोजना विकासका लागि प्राविधिक सहायता उपलब्ध गराएकामा उनले प्रशंसा गरे । मन्त्रीअपुनले राजदूत बडको कार्यकाल कुशलतापूर्वक सम्पन्न भएकामा बधाई दिँदै आगामी दिनमा सम्हाल्ने जिम्मेवारीको सफलताको कामना गरे ।

यस्तै राजदूत बडले आफ्नो नेपाल बसाई सफल र स्मरणयोग्य रहेको भन्दै नेपालको सरकार, राजनीतिक नेतृत्व र जनताबाट राम्रो माया र सहयोग पाएकमा प्रसन्नता व्यक्त गर्नुभयो । उनले अष्ट्रेलिया सरकारले नेपालको विकासमा गर्दै आएको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने स्पष्ट गर्दै अष्ट्रेलियाको निजी क्षेत्रलाई जलविद्युत्सहित नेपालको विविध क्षेत्रमा लगानी गर्न आह्वान गर्ने बताए । रासस

images
प्रकाशित मिति :आश्विन १७, २०७७ शनिवार - ०७:०७:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology