Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

मनसुन लम्बिने पक्काः आइतबारबाट मौसम सफा !

मनसुन लम्बिने पक्काः आइतबारबाट मौसम सफा !

दैनिकी न्यूज

९, आश्विन २०७७
मनसुन लम्बिने पक्काः आइतबारबाट मौसम सफा !
images

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्यून चापीय क्षेत्र रहेको र न्यून चापीय क्षेत्र उत्तर–पूर्व सरिरहेकाले मुलुकका अधिकांश स्थानहरूमा वर्षा भएको हो ।

शुक्रबार देशभरका अधिकांश ठाउँमा मौसम बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

शनिबार प्रदेश १, प्रदेश २ मा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १ र प्रदेश २ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

भारतको मध्य प्रदेशको पूर्वी भूभागमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदलीसहित वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । ‘शनिबार बेलुकासम्म देशभर वर्षाको सम्भावना रहेको छ । आइतबारदेखि क्रमिक सुधार हुनेछ,’ मौसमविद् मानन्धरले भनिन्, ‘आइतबारबाट वर्षा हुने क्रम केही रोकिए पनि पूर्ण रूपमा मौसम सफा भई घाम लाग्न केही दिन लाग्नेछ ।’

महाशाखाको पछिलो विवरणअनुसार बिहीबार काठमाडौं उपत्यकामा ५९ दशमलव ९ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, पोखरामा ६९ दशमलव ५, धनगढीमा ३ दशमलव ४ र दिपायलमा ५ दशमलव ८ वर्षा मापन भएको छ ।

यो खबर आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन् ।

images
प्रकाशित मिति :आश्विन ९, २०७७ शुक्रवार - ०६:२७:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology