काठमाडौं । कोरोनाका कारण पछिल्लो पटक संशोधित कार्यतालिकामा पनि महाधिवेशन नहुने अवस्था बन्दै गएपछि कांग्रेस वृत्तमा महाधिवेशनलाई विकेन्द्रीकरण गर्न आवाज उठ्न थालेको छ ।
कांग्रेसले कोरोनाकै कारण केन्द्रको महाधिवेशन मितिबाहेकका तल्ला तहका अधिवेशनको कार्यतालिकालाई दुई पटक संशोधन गरिसकेको छ । पछिल्लो पटक संशोधन गरेको तालिकासमेत कोरोनाकै कारण प्रभावित भएपछि महाधिवेशनलाई विकेन्द्रीकरण गरेर भए पनि गरिनुपर्ने विकल्पको आवाज उठ्न थालेको हो ।
कांग्रेसको विधानतः गत वर्षको फागुनमै निर्वाचित केन्द्रीय समितिको म्याद सकिएको थियो । तर, विधानअनुसार सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको कार्यकाल एक वर्ष थप गरेका थिए । थप समयसमेत आगामी फागुनमा सकिँदै छ ।
यस अवधिमा समेत महाधिवेशन हुने अवस्था नभएपछि कांग्रेसका वर्तमान पदाधिकारीसहित पूर्वपदाधिकारीले महाधिवेशन गर्ने तरिका बदल्नुपर्ने भन्दै विकल्प अघि सारेका हुन् ।
यस्तो विकल्पसहितको प्रस्ताव अघि सार्नेमा उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र युवा नेता गगन थापा छन् ।
उनीहरूले एक भर्चुअल कार्यक्रमको छलफलमार्फत संघीय संरचनाअनुसार वा जिल्ला तहमै महाधिवेशनका लागि मतदान गर्न सकिने गरी निजी प्रस्ताव अघि सारेका हुन् ।
सिटौलाले अब फागुनमा महाधिवेशन हुने सम्भावना आफूले नदेखेको र कोरोनाकै कारण महाधिवेशन नगर्ने हो भने अझै तीन–चार वर्ष महाधिवेशन गर्न नसकिने भन्दै तरिका बदलेर भए पनि महाधिवेशन गरिनुपर्ने बताए ।
‘कोरोनाकै कारण महाधिवेशन नगर्ने हो भने अझै तीन चार वर्ष महाधिवेशन हुँदैन त्यसले निर्वाचनमा असर गर्छ, अब पुरानै तरिकाबाट नभए तरिका बदलेर भए पनि महाधिवेशन गर्नुपर्छ,’ सिटौलाले भने ।
उपभापति निधिले प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्लागत रूपमा मतदान गरेर भए पनि महाधिवेशन गर्र्ने विकल्पमा जान सकिने बताए ।
यो खबर राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।