Logo

आइतवार, श्रावण २४ गते २०८३

images

रेडियो नेपालको जग्गा कौडीको भाउमा भाडामा, तर एक रुपैयाँ उठेको छैन

रेडियो नेपालको जग्गा कौडीको भाउमा भाडामा, तर एक रुपैयाँ उठेको छैन

रामहरि कार्की

३, माघ २०७४
रेडियो नेपालको जग्गा कौडीको भाउमा भाडामा, तर एक रुपैयाँ उठेको छैन
images

ललितपुर ।  नियम विपरित रेडियो नेपालको जग्गा नीजि क्षेत्रलाई दिएको खुलासा भएको छ । ललितपुरको खुमलटारमा रहेको रेडियो नेपालको खुमलटार ट्रान्समिटिङ स्टेशनको मूल बटो उत्तर तर्फ ४२ र दक्षिण तर्फ ११८ रोपनी समेत गरी जम्मा करिब १६० रोपन जग्गा रहेकोमा ११८ रोपनी जग्गा कौडीको भाउमा भाडामा लगाइएको दैनिकी न्यूजले तथ्यसहित फेला पारेको हो सरकारी स्वामित्वको उक्त जग्गा भाडामा लगाएको जानकारी पाएपछि स्थानीयहरुले विरोध गरेका छन् भने महानगरपालिकाका जनप्रतिनिधि समेत असन्तुष्ट बनेका छन् ।

४२ रोपनी जग्गा ३० वर्षलाई लीजमा

खुमलटारको उत्तर तर्फको ४२ रोपनी जग्गा व्यापारिक प्रयोजनका लागि लीजमा दिइएको छ, त्यो पनि ३० वर्षका लागि । श्री कुबेर ज्ञान हाउजिङ कम्पनी प्रा.लि.लाई उक्त जग्गा लीजमा दिएको हो । त्यसको मासिक भाडा जम्मा प्रति रोपनी ४१,०५१ का दरले लिनेगरी सम्झौता भइसकेको छ । रोचक कुरा त के भने उक्त जग्गालाई व्यापारिक प्रयोजनका लागि लगाउन २०६७ साल पौष २७ गते सञ्चालक समितिको ४८० औं बैठकले निर्णय गरेको थियो ।

त्यतिबेला तत्कालिन संचार मन्त्रालयका सचिव सुशील घिमिरेको अध्यक्षतामा अर्थमन्त्रालयका तत्कालिन सहसचिव तथा हालको मुख्य सचिव लोकदर्शन रेग्मी संचालक समेतको उपस्थितिमा निर्णय नं. २ बमोजिम ४२ रोपनी जग्गा कुनै सरकारी स्वामित्वको संस्थालाई हालको प्रचलित मूल्यमा विक्री गर्न वा दीर्घकालीन लिजमा उपलब्ध गराउन दिने निर्णय भएको थियो तर, अहिले लीजमा दिइएको कम्पनी सरकारी नभएर नीजि हो र त्यसले व्यापारिक महल बनाउने गरी सस्तो भाउमा लीजमा लिएको हो ।

तर, व्यापारिक र नीजि कम्पनीलाई जग्गा भाडामा लगाउने निर्णयको महानगरपालिकाको वडा कार्यालय १५ ले विरोध जनाएको छ । उसले ४२ रोपनी जग्गा खुला राख्नुपर्ने र विपत्तिको बेलामा प्रयोग गर्नुपर्ने सुझाव दिएपनि आर्थिक चलखेल गरेर लीजमा दिइएको एक स्थानीयले जानकारी दिए । २०७२ सालको महाभुकम्पको बेला सो ठाउँमा हजारौ मानिस पाल टागेर बसेको हुनाले रेडियो नेपालको उक्त जग्गा जे प्रयोजनको लागि दिइएको सोही प्रयोजनको लागि मात्र प्रयोग गर्नुपर्ने स्थानीय र महानगरपालिको माग रहेको छ ।

१५ नम्बर वडा कार्यालयले सो जग्गा विपद व्यवस्थापनको लागि खुल्ला राख्नेबारे महानगरपालिकाको कार्यालय र सूचना तथा संचार मन्त्रालयलाई समेत लिखित पत्र पठाएको छ । लीजमा लिने कम्पनीले उक्त जग्गा किन लीजमा लिएको हो र त्यसमा के गर्न खोजेको हो भन्ने समेत खुलाएको छैन । नक्सापास नगरी पर्खाल लगाउन खोज्दा वडा अध्यक्षले नगर प्रहरी बोलाई सम्पूर्ण सामग्रीहरु नियन्त्रण गरी महनगरपालिकाको कार्यालयमा बुझाएको वडा अध्यक्ष सुदर्शन मिश्रले जानकारी दिए ।

जग्गा भाडामा तर, पैसा एक रुपैयाँ उठ्दैन

रेडियो नेपालको रिपिटर टावर रहेको दक्षिण तर्फको ११८ रोपनी जग्गा मध्ये करिब १७ रोपनी जग्गा विगत २०६५ सालदेखि नै प्रति रोपनी प्रति वर्ष ३५ हजारका दरले प्रति वर्ष १० प्रतिशतले बढ्ने गरी भाडामा लगाइएको छ । २०६५ साल फागुन १८ मा तत्कालीन कार्यकारी निर्देशक रामशरण कार्कीको पालामा ११८ रोपनी जग्गा मध्ये १० रोपनी जग्गा इन्फाटेक प्रालिलाई १० हजारका दरले प्रति वर्ष प्रति रोपनी प्रति वर्ष १० प्रतिशतले बढ्ने गरी दिइएको थियो । यसैगरी जियो अटोमोवाइल प्रालिलाई २०६७ असार ३१ गतेदेखि लागु हुने गरी ५ रोपनी जग्गा प्रति वर्ष प्रति रोपनी ११ हजारका दरले लिने गरी भाडामा लगाइएको छ । त्यो बेलामा रेडियो नेपालका कार्यकारी निर्देशक तपनाथ शुक्ल थिए । तर अहिलेका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले माथिको भाडा दरलाई संशोधन गरी २०७३ साल जेठ १ देखि लागु हुने गरी प्रति रोपनी प्रति वर्ष ३५ हजार पुर्याएका छन् । १० वर्षको लागि दिइएको छ त्यहाँ घर टहरा बनेको छ । यसैगरी कार्कीले नै गणपति भेनियर तथा प्लाइउड उद्योगलाई २ रोपनी जग्गा प्रति वर्ष प्रति रोपनी ३५ हजारको दरले १० वर्षको लागि भाडामा लगाए । उक्त कम्पनीले नगरपालिकासँग समन्वयन नगरी गोदाम घर बनाएको छ । दक्षिण तर्फको २५ रोपनी जग्गा शसस्त्र प्रहरी वलले प्रति रोपनी प्रति महिना २३,७५० रुपैयाँ र वर्षको ७१ लाख २५ हजारका दरले भाडामा लिएपनि हालसम्म एक रुपैयाँ रकम नतिरेको स्रोतले जनाएको छ । सम्झौतामा भएको जग्गा भन्दा पनि २० रोपनी वढी जग्गा समेत प्रयोग गरी ४७ रोपनी जग्गा शसस्त्र प्रहरीले प्रयोग गर्दै आइरहेको छ । तर हालसम्म रेडियो नेपाललाई भाडाको रकम एक रुपैयाँ उपलब्ध नगराएको पाइएको हो । रेडियो नेपालले पटक पटक पठाएको पत्रलाई प्रहरीले वास्ता समेत गरेको छैन । चिठीको जवाफ समेत पठाएको छैन ।

images
प्रकाशित मिति :माघ ३, २०७४ बुधवार - २३:४१:४९ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology