गृहमन्त्रीका भाइसहित ८ पक्राउ प्रकरण : घटना पेचिलो बन्दै

काठमाडौं, भदौ २८ । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोद्धारा संगठित अपराध र आपराधिक लाभ ९एक्सटर्सन०को मुद्दामा पक्राउ गरिएका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाससहितका आठ जनासँग अदालतमा बयान लिने क्रममा घटना झनै पेचिलो र रहस्यमय बन्दै गएको पाइएको छ ।पक्राउ परेका आठमध्ये तीन जनाले जिल्ला अदालत काठमाडौंमा बयान दिएका छन् भने बाँकी पाँच जनाको बयान आइतबार हुनेछ ।

गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईले गृहमन्त्रीले घटनामा दोषी देखिए जोसुकैमाथि पनि कारबाही गर्न निर्देशन दिएको स्पष्ट पारेका छन् । ‘गृहमन्त्रीलाई यस प्रकरण सुरु हुनासाथ जानकारी आएको थियो । उहाँले सत्यतथ्य पत्ता लगाएर कारबाही गर्न प्रहरीलाई निर्देशन दिनुभएको हो ।’ राईले राजधानीसँग भने । राईले गृहमन्त्री, गृहसचिव र आईजीपी बसेर नै यो घटनाको सत्यतथ्य छानबिन गर्ने निर्णय भएकाले सोहीअनुसार प्रहरीले छानबिन अघि बढाएको जानकारी दिए ।

नेपाल प्रहरीको केन्द्रीय अनसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी दीपक रेग्मीले तीन जनाको बयान सकिएको र अन्यको आइतबार हुने जानकारी दिए । गृहमन्त्रीका भाइ नरेशलगायत पाँच जनाको बयान आइतबार हुने उनले बताए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हत्यासम्बन्धी मुद्दामा रहेका गुन्डा नाइके समीरमान बस्नेतसँगको मिलिमतोको आधारमा गृहमन्त्री थापाका भाइ नरेश थापासहित आठ जनालाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । सीआईबीका अनुसार यो घट्ना झन्डै ७० दिनदेखि गोप्य रूपमा छानबिन हँुदै आइरहेको थियो । र, सोही आधारमा सम्बन्धित व्यक्तिलाई पक्राउ गरी नियन्त्रणमा लिइएको थियो ।

सीआईबीका अनुसार उनीहरूलाई निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको २३ असोजमा राजधानीको शान्तिनगरस्थित खरिबोटनजिकै गोली हानी हत्या गरेको अभियोगमा थुनामा रहेका गुन्डा नाइके बस्नेतसँग मिलेमतो गरी फिरौती असुली गरेको अभियोग लगाइएको छ ।

गृहमन्त्रीका भाइ नरेशले भने आफूले सुनधारास्थित केन्द्रीय कारागारमा गएर समीरमान बस्नेतलाई भेटेको बयानमा इन्कार गरेका छन् । ब्युरोसँगको बयानका क्रममा नरेशले आफूले समीरमानलाई चिन्दै नचिनेको बयान दिएको स्रोतले जानकारी दिएको छ । तर, ब्युरोका अनुसन्धान अधिकृतहरूले भने पक्राउ परेकाको बस्नेतसँग कनेक्सन रहेको प्रमाण फेला परेको दाबी गरेका छन् ।

बस्नेत अहिले केन्द्रीय कारागारमा थुनामा छन् । जेलबाटै आपराधिक गतिविधि बढाएको भन्दै बस्नेतलाई केही समय मुस्ताङ कारागारसमेत लगिएको थियो । तर, उनलाई केही समयपछि पुनः काठमाडौं केन्द्रीय कारागार नै ल्याइएको थियो । २०७४ असोजदेखि उनी जेलमा छन् । राजधानी दैनिकमा भवनाथ प्याकुरेलले लेखेका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०७६ /Saturday, September 14th, 2019, 7:14 am