राष्ट्रिय अभियान सञ्चालन गर्दै नेकपा

काठमाडौँ, भदौ २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय अभियान सञ्चालन गर्ने तयारी थालेको छ ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकीकरण प्रक्रिया लगभग टुङ्गिएपछि अब अभियान थाल्ने बताइएको छ । दुई पार्टीबीच समायोजन भएका सङ्गठन परिचालन गर्न विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने तयारी रहेको पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एकता प्रक्रियाका केही काम बाँकी छ, त्यो पूरा हुनेबित्तिकै पार्टी विशेष अभियानमा जान्छ । ”

नेकपाले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग जोड्ने र आमजनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने भन्दै विभिन्न कमिटीलाई सर्कुलर पनि पठाइसकेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भदौ १३ गते सो सर्कुलर पठाउनु भएको हो । सर्कुलरको आधारमा प्रदेश, जिल्ला तथा स्थानीय तहमा अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ । पार्टीका स्थायी समिति सदस्य एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले पार्टीको निर्देशनअनुसार प्रदेशदेखि स्थानीय तहसम्म अभियान सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो । सुदूरपश्चिम प्रदेश कमिटी मातहतका सबै जिल्ला र स्थानीय तहको एकीकरण सम्पन्न भएको बताउँदै उहाँले पार्टी एकताका सन्देश दिन गाउँगाउँसम्म अभियान सञ्चालन गरिने बताउनुभयो ।

नेकपाले २२ वटा जनवर्गीय सङ्गठन र पार्टीका ३३ वटा केन्द्रीय विभाग, ७७ वटै जिल्ला र छवटा महानगरपालिकाको इन्चार्ज, तथा सहइन्चार्ज, पाँचवटा उपत्यका विशेष कमिटी र सो मातहतका जिल्ला कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव, आठवटा सम्पर्क समन्वय कमिटी तथा सम्पर्क कमिटीका इन्चार्ज, सहइन्चार्ज, संयोजक÷अध्यक्ष, सचिव, २५ वटा जनवर्गीय तथा सामुदायिक सङ्गठनहरुका इन्चार्ज र सहइन्चार्ज तथा दुई जना कार्यालय सचिव टुङ्गो लगाइसकेको छ ।

अधिकांश जिल्लाका एकताका काम सम्पन्न भइसकेका छन् र एकीकरण सम्पन्न हुन बाँकी रहेका जिल्लाको काम पार्टीले जारी गरेको मापदण्ड तथा कार्यविधिअनुसार सम्पन्न गर्न पार्टीले निर्देशन दिएको छ । गोरखापत्र दैनिका खबर छ ।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०७६ /Saturday, September 14th, 2019, 7:09 am