आन्दोलनमा होमियो काङ्ग्रेस, आन्दोलनको कार्यक्रम घोषणा

काठमाडौ, भदौ २७ । बाँकेको जिल्ला सभापतिलाई सत्तारूढ नेकपाका कार्यकर्ताले आक्रमण गरेको भन्दै नेपाली काङ्ग्रेस चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।

कांग्रेसले घटनाको विरोधमा काठमाडौं, ललितपुर र भक्तपुरका नेपाली कांग्रेस जिल्ला सभापतिहरूको अगुवाइमा गृहमन्त्री मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने, बाँकेमा विरोध प्रदर्शन गरेर स्थानीय प्रशासनलाई लिखित जाहेरी बुझाउने र शनिबार माइतिघर मण्डलामा शान्तिपूर्ण धर्ना दिने कार्यक्रम समेत तय गरेको छ ।

पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत बिहीबार बाँकेको सीतापुरमा सभापति किरण कोइराला लगायतलाई नेकपा कार्यकर्ताले शख्त घाइते हुनेगरी कुटपिट गरेका थिए । घटना नियोजित भन्दै काङ्ग्रेसले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी कार्यालय सानेपामा शुक्रबार पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएकी जिल्ला सभापति किरण कोइराला लगायतका कांग्रेस कार्यकर्तामाथि नेकपाका कार्यकर्ताहरुको समूहले आक्रमण गरेर घाइते बनाएको आरोप लगाए ।’सभाहल भित्रै प्रवेश गरेर हातपात हुँदा र सभाहल बाहिर ५०/६० जना जम्मा भएर नाराबाजी गर्दा समेत सुरक्षा निकायले वास्ता नगर्नाले यो घटना सुनियोजित छ भन्ने देखाउँछ,’ उनले भने, ‘कांग्रेसको दोस्रो चरणको कार्यक्रममा जनताको बढ्दो सहभागिता देखेर नेकपाका कार्यकर्ताहरु आत्तिएका छन् । आक्रमणबाट सभापति कोइरालाको बायाँ हात भाँच्चिएको छ ।

गृहमन्त्री राम बहादुर थापाले शुक्रबार राज्यव्यवस्था समितिको बैठकमा बोल्दै घटना संलग्न जो कोही भए पनि कारवाही गरिने जानकारी दिएका थिए।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७६ /Friday, September 13th, 2019, 9:26 pm