एमालेसँग एकता गरेको १५ महिनापछी प्रचण्डले गरे यस्तो खुलासा

इलाम, भदौ २७ । एमालेसँग पार्टी एकता गरेको १६ महिनापछि सत्तारूढ नेकपाका अध्यक्ष प्रचण्डले पार्टी एकता गर्नु पर्ने कारण खोलेका छन । उनले पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा एमालेको हारको पीडा र माओवादीमा जीतको उन्मादको परिणाम नै पार्टी एकता भएको खुलासा गरे ।
शुक्रबार इलाममा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले पहिलो संविधानसभामा एमालेले चुनावी तालमेल गर्न नमानेको प्रसंग ल्याउँदै अपेक्षा गरेभन्दा धेरै जनमत प्राप्त भएपछि माओवादीले पनि जनताको भवनाअनुसार काम गर्न नसक्दा अर्को चुनावमा पराजित हुनु परेको स्वीकारे । प्रचण्डले पार्टी एकता भएपनी गुट-उपगुट बढेको प्रती चिन्ता जनाए । समाजवादको योजना अघि बढाएको सरकारले जनताको काम गर्न चुके त्यसले कम्युनिष्ट पार्टी प्रती जनताको भरोसा टुट्ने चेतावनी दिए ।
पार्टी एकीकरण भएको लामो समयसम्म पनि जनस्तरमा सही सूचना पुर्‍याउन नसक्दा असन्तुष्टि बढेको उनको भनाइ थियो ।

कार्यक्रममा नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले लोकतन्त्रविरुद्ध प्रतिगामी सक्रिय हुँदै गएकाले लोकतन्त्रवादी शक्ति मिलेर सामना गर्नु पर्ने धारणा राखे । नेता सुवासचन्द्र नेम्वाङले यो संविधान सबै जातजाति, भाषा, धर्म, संस्कृति र भूगोलका बासिन्दाको हितमा रहेको बताउँदै जनता सार्वभौम हुने उत्कृष्ट संविधान रहेको धारणा राखे ।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७६ /Friday, September 13th, 2019, 8:59 pm