प्रहरीद्वारा खुट्टामा गोली हानेर गुण्डा नाइके गुरुङ पक्राउ

काठमाडौं, भदौ २७ । प्रहरीले गोली हानी काठमाडौंको गोलढुंगाबाट गुन्डागर्दीमा संलग्न साजन गुरुङलाई नियन्त्रणमा लिएको छ । अपराध महाशाखाको टोलीले धादिङका गुण्डा नाइके साजन गुरुङलाई नियन्त्रणमा लिने क्रममा काठमाडौमा गोली चलाएको हो ।

विभिन्न आपराधिक गतिविधिमा संलग्न गुरुङलाई गोलढुंगाको फूलबारी रेस्टुरेन्टमा देखेपछि प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । तर, गुरुङले प्रहरी टोलीमाथि नै पेस्तोल तेर्स्याएपछि खुट्टामा गोली हानेर नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका एसपी केदार ढकालले जानकारी दिए ।

उनीमाथि धादिङमा कर्तव्य ज्यान मुद्दासमेत रहेको खुल्न आएको प्रहरीले जनाएको छ । दुवै खुट्टामा गोली लागेका गुरुङको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । साजन गुरुङसँगै उनका सहयोगी टार्जन गुरुङ पनि पक्राउ परेका छन् ।

प्रहरीले गुरुङको साथबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली पनि बरामद भएको छ ।

गुरुङ धादिङका वासिन्दा हुन् । पक्राउ परेका गुरुङले बालुवाखानी सञ्चालक, निर्माण व्यवसायी र प्रहरीलाई समेत धम्क्याउने गरेको प्रहरीमा उजुरी परेको थियो।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७६ /Friday, September 13th, 2019, 6:25 pm