रौतहटमा प्रहरीले गर्‍यो हवाइ फायर

रौतहट, भदौ २६ । रौतहटको राजपुर–८ कुडिआमा फेरि झडप भएको छ। झडपका क्रममा प्रहरीले २१ राउण्ड अश्रुग्यास र ८ राउण्ड हवाइ फायर गरेको छ ।

मुस्लिम समुदायको मुहरर्म पर्व मनाउन गएका युवाहरूले हिन्दुहरुले मनाउने पर्व छठ घाटमा झण्डा गाडेपछि सुरु भएको विवाद अझै साम्य हुन नसकेको हो ।

बिहीबार बिहान झण्डा हटाउने विषयमा सर्वपक्षीय सहमति जुटेपछि प्रहरीले झण्डा हटाएकोमा केही मुस्मिल युवाको समूहले फेरि झण्डा गाड्न थालेपछि तनाव सिर्जना भएको र स्थितिलाई नियन्त्रणमा लिँदा प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रत्येक वर्ष सो ठाउँमा मुस्लिमहरुको पर्व मुहरर्म र हिन्दुहरुको पर्व झण्डी मनाउने क्रममा झडप हुँदै आएको छ ।

प्रकाशित मिति: बिहिबार, भदौ २६, २०७६ /Thursday, September 12th, 2019, 5:11 pm