निर्माण व्यवसायी अपहरण गरेको अभियोगमा ४ जना पक्राउ

कास्की, भदौ २६ । पोखरा महानगरपालिका–६ लेकसाईड बस्ने निर्माण व्यवसायीलाई अपहरण गरेको अभियोगमा पोखरा महानगरपालिका–९ शान्तिवनबाट ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका–१५ बस्ने ४२ वर्षीय गौतम थापा, सोही महानगरपालिका–२ अर्चलबोट बस्ने ३४ वर्षीय रोहीत सुनार, सोही महानगरपालिका–८ बस्ने ५० वर्षीय बासुदेब पोखरेल र सोही महानगरपालिका–१० बस्ने ५४ वर्षीय प्रेम बहादुर थापा रहेका छन् ।

अपहरणमा प्रयोग गरिएका सवारी साधनहरु सहित प्रहरीले पक्राउ गरेको हो । निर्माण व्यवसायीलाई सोही महानगरपालिका–९ नयाँबजारबाट केही व्यक्तिहरुले
जबरजस्ती गाडीमा हाली मोटरसाइकलले स्कटिङ गर्दै अपहरण गरी लगेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले अपरहणमा परेका व्यवसायीलाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको र हाल स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, भदौ २६, २०७६ /Thursday, September 12th, 2019, 4:56 pm