डेंगु परीक्षणमै समस्या

काठमाडौं, भदौ २६ । प्रछिल्लो साता देशभर डेंगुको त्रास फैलिएको छ। यति बेला चिकित्सकदेखि नेता, मन्त्री र सर्वसाधारण डेंगुका कारण एउटै मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टको पर्खाइमा छन्।

प्रयोगशालामा जनशक्ति र उपकरण न्यून भएका कारण रिपोर्ट आउन ढिला हुनेदेखि अनेकौं समस्या बाहिर आएका छन्।

नेपालमा यति बेला ६१ जिल्लामा डेंगु देखिएको र त्यसमध्ये ५६ जिल्लामा प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको छ।

रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय तथा सरकारको समयमै ध्यान नपुगेको भन्दै संसद्मा समेत कडा आलोचना भइरहेको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक महिनाको बीचमा झन्डै ५ हजारको हाराहारीमा डेंगु संक्रमित बिरामी परीक्षणमा आइसकेका छन्।

६ जनाको मृत्युसमेत भइसकेको छ, यसमा महाशाखाले चार जनाको प्रमाणित भएको र दुई जनाको भइनसकेको बताएको छ।

डेंगु रोगका विशेषज्ञसमेत रहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। वासुदेव पाण्डेका अनुसार यति बेला अस्पतालको बेडमा बिरामी राख्ने ठाउँ नभएकाले बाहिर ग्यारेजदेखि पालमुनि समेत बिरामी राखेर परीक्षण गरिएको छ। जनशक्ति कम भएकाले विभागसँग माग गरी काम गरिएको उहाँले बताउनुभयो।

यसबीच दुई जना चिकित्सक र नौ जना स्वास्थ्यकर्मीमा पनि उपचार गर्दैगर्दा डेंगु देखियो। ‘डेंगु जुन किसिमको बाहिर हल्ला छ, त्यसरी डराउनुपर्दैन र बजारबाट जथाभावी औषधि खरिद गरेर नखान पनि हामी आह्वान गर्छौं।’ –डेंगु रोगमै विद्यावारिधि गरेका पाण्डेको सल्लाह छ।

विशेष गरी डेंगुको संक्रमण भएका व्यक्तिले झोलिलो पदार्थमा जोड दिनुपर्छ। ‘झोल पदार्थ प्रशस्त खाएर घरमै आराम गर्दा पनि हुन्छ, आत्तिनु पर्दैन।’ –डा. पाण्डे भन्नुहुन्छ। नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेका छन् ।

प्रकाशित मिति: बिहिबार, भदौ २६, २०७६ /Thursday, September 12th, 2019, 6:17 am